सुर्तालाई ‘सिंगडा’को भर
नेपालगन्ज – बाँके वनकट्टीकी सुर्ता रैदासको आफ्नो जग्गाजमिन छैन । ऐलानीमा रहेको छाप्रामा सुर्ताका आठ जना परिवार बस्छन् । सुर्ताका श्रीमान दैनिक मजदुरी गर्छन् ।
झण्डै ६ महिना सुर्ताका परिवार नै पानीमा हेलिन्छन् । असारदेखि मंसीरसम्म नै सुर्ताको परिवारका सबै सदस्यको घुँडादेखि कम्मरसम्म पानीमा दैनिकी बित्छ । उनीहरुले बटैया (अदिया) मा सिंगडा खेती गर्छन् । असारमा लगाउने सिंगडा अन्तिममा टिप्दा मंसीर भेट्छ । बटैयामा गरेको सिंगडासँग धान साट्छन् । मजदुरीसँगै सिजनमा लगाउने सिंगडाले सुर्ताको परिवारको जीविका चलेको छ ।
डुवानमा पर्ने अर्थात पानी जम्ने ठाउँमा सिंगडा खेती हुने गर्दछ । बिउ राख्ने र त्यसलाई रोपेपछि फलेको फल दुई पटकसम्म टिप्न सकिन्छ । नेपालगन्ज बजारसँग जोडिएको डुडुवाको वनकट्टीमा जताततै फलेको सिंगडाको मूल्य भने खेती गर्ने र बेच्नेका बीचमा आधाजसो फरक रहेको छ । नेपालगन्जमा प्रतिकिलो सय रुपैयामा र डुडुवामा ६० रुपैया किलोमा सिंगडा बिक्री भइरहेको छ । दुई भाग धानसँग एक भाग सिंगडा राखेर साट्ने गरिएको छ ।
सुर्ताका परिवारले दुई कठ्ठा जग्गामा सिंगडा लगाएका छन् । असारमा लगाएको सिंगडा यतिबेला धमाधम टिप्दै बिक्री गरिएको छ । एकजना हरिराम चौहानलाई ६ सय रुपैया दिनको दिएर सिंगडा टिप्न लगाइएको छ । ‘दिनमा एक क्वीन्टल निकाल्छौं । श्रीमान र छोराले गाउँमा गएर धानसँग साट्नु हुन्छ, सुर्ताले भनिन्, ६ क्वीन्टलजति हुन्छ ।’
डुंगामा बसेर र थोरै पानी भएको ठाउँमा गएर सिंगडा टिप्छन् । त्यसलाई घरमा लगेर जोखेर आधा–आधा भाग लगाइन्छ । जग्गा धनीको भागको सिंगडा घरमा पु¥याइदिने र आफ्नो भागको सिंगडा बेच्न लैजाने सुर्ता बताउँछिन् । ‘सिंगडासँग साटेर ५ क्वीन्टल बढी धान हुन्छ । त्यसले हाम्रो परिवारको गुजारा केही महिना चल्छ, सुर्ताले थपिन्, आफ्नो जग्गा छैन । के गर्नु । बाँच्नका लागि केही त गर्नै प¥यो ।’
डुवान पर्ने ठाउँमा सिंगडा खेती गर्न सके राम्रो आम्दानी हुन सक्छ । सुर्ताले सिंगडा लगाएको जग्गामा सिंगडाबाहेक केही हुँदैन । त्यो एकप्रकारको सिमसार नै हो । त्यही नजिकै कैलाश काँदुले करिव दश कठ्ठामा सिंगडा लगाएका छन् । कैलाशले ३० हजार नगद र एक क्वीन्टल सिंगडामा उक्त जग्गा ठेक्कामा लिएका छन् । पानी जमेको ठाउँमा माछा पनि हुने भएकाले जग्गा धनीलाई २० किलो माछा दिने शर्त रहेको छ । ‘सबै खर्च कटाएर एक÷दुई लाख बचत हुन्छ, कैलाशले भने, धेरै बचत हुन्छ भन्यो भने जग्गा धनीले फेरि ठेक्काको रकम बढाउँछन् ।’
सिंगडा तराईवासीले मन पराउने फल हो । बाह्रैमास नपाइने भएकाले पनि यसको महत्व रहेको छ । सबै ठाउँमा नहुने भएकाले यसलाई ‘चिज’ मानिन्छ । व्यवसायिक रुपमा सिंगडा उत्पादन भने गरिएको छैन । पानी जमेको अर्थात डुवान क्षेत्रमा बटैया या ठेक्का दिएर अलिअलि पैसा आइहाल्छ भन्ने सोचका साथ जग्गा दिने र बटैया या ठेक्का लिनेले कामचलाउ तरिकाले सिंगडा लगाउने गरेको पाइन्छ ।