टीकाको दिन ३७ जना आइसोलेसनबाट घरमा
नेपालगञ्ज – दशैंको दिन बाँकेमा ३७ जना डिस्चार्ज भएका छन् ।
लक्षण चिन्ह नदेखिएका संक्रमितलाई दश दिनमा डिस्चार्ज गर्ने नीति अनुसार यी ३७ जना डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार लक्षण चिन्ह नदेखिएका संक्रमितलाई दश दिनमा डिस्चार्ज गर्ने र उनीहरु सात दिन घरमै बस्नु पर्नेछ ।
यही नीति अनुसार सोमबार २२ पुरुष र १५ महिला डिस्चार्ज भएका छन् । उनीहरुको दशैंको दिन आइसोलेसनमा बस्ने बाध्यता हटेको छ ।
यसअघि हिजो दुई लट गरेर २ सय २८ जनालाई डिस्चार्ज गरिएको थियो । फोकलपर्सन श्रेष्ठले अहिलेसम्म दुई हजार ६ सय २२ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । अब आइसोलेसनमा ३ सय ३८ जना रहेका छन् ।