गोवाको शैक्षिक भ्रमण धम्बोझीमा
क्याम्पस पढ्दैको कुरा हो । वि.सं. २०५२ मा शैक्षिक भ्रमण जाने कुरा उठ्यो । कहाँ जाने ? धेरै ठाउँका प्रस्ताव आए । अन्त्यमा भारतको गोवा जाने निष्कर्ष निस्कियो । भ्रमणका लागि टोली गठन गरेर शिक्षक, विद्यार्थी र अन्य व्यक्ति तथा सङ्घ–संस्थाबाट सहयोग सङ्कलन गर्न थाल्यौँ । त्यसको नेतृत्व तप्त पौडेलले गरेका थिए । केही दिनपछि नै भ्रमण जाने सल्लाह भएको थियो ।
एक दिन साँझ शैक्षिक भ्रमणका बारेमा सल्लाह गर्नुछ भनेर केहीलाई धम्बोझीस्थित होटलमा बोलाइयो । अगुवाइ गरेका साथीहरूले भने, ‘यति पैसाले गोवा जान पुग्दैन, उठेको पैसाले आज यहीँ बसेर खानपिन गरेर रमाइलो गराँै ।’
भ्रमण टोलीका कसैले पनि यस्तो गर्न हुन्न भनेनन् । पैसा नपुगेपछि के गर्ने त भन्ने पनि लाग्यो । योजना गोवाको थियो, बसाइ धम्बोझीको पो हुने भयो ।
हामीले आ–आफ्नो मन पसन्द परिकार, रक्सी र मासु मगायौँ । होटलमा पाइने सबै मासुका परिकारको स्वाद लिइयो । खाँदै, नाँच्दै रमाइलो गरियो । त्यो रात हामी होटलमै सुत्यौँ । बिहानको खाना पनि सोही होटलमै खाएर दिउँसो फिल्म हेर्न जाने योजना बन्यो ।
भोली भोलिपल्ट बिहान रातिको हिसाब गरियो । हिसाब यति आयो कि गोवा भ्रमणका लागि सङ्कलन गरेको सबै रकम होटललाई तिर्नुपर्ने भयो । हिसाबकिताब बराबर भयो, भ्रमणको रकम सकियो । दिउँसो हामीले आ–आफैँ पैसा उठाएर फिल्म हे¥यौँ र छुट्टियौँ ।
हामीले त रमाइलो ग¥यौँ । तर, धेरै साथीलाई धोका भयो । शैक्षिक भ्रमणबाट प्राप्त हुने अनुभव र उपलब्धि हासिल हुन सकेन । साथीहरूको नजरमा हामी धोकेबाज ठहरियौँ । कुनै लक्ष्य र योजनामा अघि बढिसकेपछि कार्यान्वयन गर्नुको सट्टामा केही साथीको लहलहैमा लागेर हामी गलत काममा सहभागी भयौँ । पछि साथीहरू तथा क्याम्पसका सरहरूले हाम्रो व्यवहारप्रति प्रश्न उठाए । भ्रमण टोलीकै कारण भारतको रमणीय एवं पर्यटकीय गोवा सहर घुम्ने मौका गुम्यो । जब कोही गोवा घुम्न जाने कुरा गर्छ, मलाई त्यही भ्रमण तयारीको सम्झना आउँछ ।
(अधिवक्ता लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकबाट यो अंश निकालिएको हो । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले सम्पादन गरेको पुस्तक क्रियटिभ बुक्सको प्रकाशन गरेको छ ।)