पार्टीले बिर्सिएको जनपक्षीय वडाध्यक्ष

नेपालगञ्ज – २०४६ सालमा उनी तेस्रो पटक पक्राउ परे । यो बेला प्रहरीले उनलाई कुट्नु कुट्यो । दुई महिना कास्की कारागारमा राख्यो ।
यही बेलाको कुटाईले उनको मानसिक समस्या सिर्जना भयो । अहिले दिनको एउटा ‘गोली’ औषधी खानु पर्ने दैनिकी बनेको छ । मासिक दुई सय रुपैयाको औषधी खाने उनलाई पार्टीको तर्फबाट कुनै सहयोग भने छैन ।
कुरा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नं. ६, दमौलीका काशीराम अधिकारीको हो । कास्की ढिकुरपोखरी वडा नं. १, अधिकारीडाँडाका काशीराम २०५३ सालमा बर्दिया बसाई सर्नुभयो । बामपन्थी राजनीतिमा लागिसकेका सानो बुवा तुलसीप्रसाद अधिकारीको प्रेरणाले काशीराम बामपन्थी राजनीतितिर झुकाव राख्न थाल्नु भयो ।
पञ्चायतकालमा रानजीति गर्नु सजिलो थिएन । २०३४ सालमा अनेरास्ववियुमा लागेका काशीराम त्यही साल पक्राउ परेर १५ दिन हिरासतमा बस्नु प¥यो । चार हजार दुई सय रुपैया धरौटी तिरेर छुट्नुभयो ।
राजनीतिक चस्का लागिसकेका काशीराम त्यसै बस्ने कुरै भएन । भूमिगत रुपमा पार्टीका गतिविधि गरिरहनु भयो । २०३६ सालमा फेरि पक्राउ पर्नुभयो । यो बेला ३७ दिन राखेर छोडियो । २०३७ सालमा काशीरामले पार्टीले भूमिगत रुपमा दिने एक महिने लडाकु तालिम गर्नुभयो । त्यो तालिम भुजुङखोलाको सिरानमा दिइएको थियो । ३० जना सहभागी थिए ।
यही बेलामा पार्टीले ‘लडेर होइन, चुनावबाट जानु पर्छ’ भन्ने नीति अंगीकार ग¥यो । यो सूचना काशीरामहरुलाई सोमनाथ प्यासी, हितकाजी गुरुङले गर्नुभयो ।
भूमिगतकालमा अधिकारीडाँडा बामपन्थी झुकाव राख्नेको ‘सेल्टर’जस्तै थियो । त्यसमध्येको एउटा घर काशीरामको थियो । जुन घरमा मदन भण्डारी र जीवराज आश्रितहरु पटक–पटक बैठक गर्न आउनु हुन्थ्यो । २÷३ दिनसम्म बैठक चलिरहदा काशीरामहरु सेन्ट्री बस्नु हुन्थ्यो । यो २०३९ सालतिरको कुरा हो ।
भूमिगतकालमा काशीरामको नाम ‘गोमन’ थियो । त्यतिबेला पार्टीको गाउँ कमिटीमा रहनु भएका काशीरामले खगराज अधिकारीसँगै काम गर्नुभयो । बर्दियामा धेरैले चिन्न नसकेका काशीराम जनपक्षीय वडाध्यक्षसमेत हुन् ।
२०४६ सालमा देशमा प्रजातन्त्र आउनु अघिसम्म काशीराम ढिकुरपोखरी गाविस वडा नं. १, अधिकारीडाँडाका जनपक्षीय वडाध्यक्ष हुनुहुन्थ्यो । पञ्चायतका बद्री कुँवर र नेपाली कांग्रेसका बुद्धिबहादुर कुँवरलाई पछि पार्दै काशीराम जनपक्षीय वडाध्यक्ष चुनिनु भएको थियो । टेष्ट पास गर्नु भएका काशीरामले २ सय ९३ मत ल्याएर चुनाव जित्दा कांग्रेसका बुद्धिबहादुरले सय र पञ्चायतका बद्रीले सय भन्दा कम मत ल्याएका थिए ।
२०४६ सालको फाल्गुन ७ गते कास्कीकोटका गाविस सचिवलाई केहीले कुटपिट गरे । त्यो घटनामा काशीरामसहित ६ जनालाई पक्राउ गरियो । पक्राउ पर्नेमा ऋषि, हेमराज पोखरेल, टीकाराम पंगेनी, कृष्ण गिरीलगायत थिए । यही बेला प्रहरीले हिरासतमा काशीरामलाई खुब पिट्यो । त्यही प्रहरीको पिटाईको असर काशीरामको दिमागमा प¥यो । जसका लागि उहाँले अहिले दैनिक एउटा गोली औषधी खानु पर्ने बाध्यता रहेको छ ।
पञ्चायतमा राजनीति गरेको, जनपक्षीय वडाध्यक्ष भएको, पार्टीमै लागेका कारण प्रहरीले पक्राउ गरेर कुट्दा मानसिक समस्या देखा परेका तिनै काशीरामलाई पार्टीले भने कुनै सहयोग गरेको छैन । काशीराम भन्नुहुन्छ, ‘पार्टीले मानव अधिकारवादी संघ संस्थालाई देखाइदियो । त्यहीबाट केही समय औषधी सहयोग भयो, अहिले त्यो पनि बन्द भएको छ ।’
काशीरामलाई लाग्दो रहेछ, आफ्नो पुरानै ठाउँमा बसेको भए । केही सहयोग हुन्थ्यो कि ? नयाँ ठाउँमा बसाई सरेपछि कसैले चिनेनन् । म पनि खोज्दै गएको छैन ।
पञ्चायतकालमा राजनीति गर्न कम्ती चुनौती थिएन । पार्टी सदस्यता लिनलाई पनि ठूलो त्याग तपस्या चाहिन्थ्यो । अहिलेजस्तो जसलाई पायो, त्यसलाई पार्टी सदस्यता दिने चलन थिएन । राजनीतिमा लागेकै कारण धेरै हण्डर खाएका काशीरामहरुको अहिलेको अवस्थामा भने कुनै मूल्य छैन, अहिले त पैसा हुने वा आसेपासेकै दिन रहेको देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !