मेरो शहर
मेरो शहर
चुपचाप छ
अहं बोल्दैन
चुँ बोल्दैन ।
मध्य र सुदूर
पश्चिमको केन्द्र
औद्योगिक नगरी
सयौं खाले व्यापार
पेशा थरीथरी
हेर्दा हेर्दै आज
खोसियो सबै पगरी ।
मुलुककै सबैभन्दा
पूरानो मध्येको एक ।
२००७, २०४६ होस्
वा ०६२-०६३ को
परिवर्तनको साक्षी
एक संवाहक, एउटा केन्द्र
आज आफैं बेसहारा
निरीह ।
तै पनि मुख खोल्दैन
कसैगरी ।
राजा ज्ञानेन्द्रको
सारा केन्द्र, कार्यालय
सार्ने आदेश होस् वा
गणतन्त्रले गरेको उपेक्षा
चुपचाप सहन्छ
मेरो शहर ।
केन्द्र र राजधानीको
लडाई छेउछाउ
सम्मै छ जारी
तर मेरो शहर
ती सबबाट बेखबर
सुनसान
शान्त पोखरी सरी ।
मेरो शहरलाई कोही
सहनशील भन्छन्
कोही मुर्दासरी ।
यो चीर निद्रा नै हो कि
आँधी अघिको सन्नाटा
बुझ्दिन कसैगरी ।
– सन्तोष रेग्मी
काठमाडौं