बोरामा दुई वटा पेस्तोल, गोजीमा ५ राउण्ड गोली

नेपालगञ्ज – बाँके प्रहरीले दुई वटा पेस्तोल, ५ राउण्ड गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नरैनापुर गाउँपालिका वडा नं. ५, सर्वराजपुरुवास्थित हुलाकी सडक खण्डमा शंकास्पद दुई व्यक्तिलाई पिछा गर्दा दुई वटा कटुवा पेस्तोल र ५ राउण्ड गोली बरामद भएको हो ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, मनिकापुर बस्ने ६२ वर्षका सलिम नाउ र वडा नं. १९, बसुदेवपुर बस्ने ३३ वर्षको इब्राहिम बेहनालाई पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । प्लाष्टिकको बोरामा पेस्तोल राखेर ल्याइरहेका उनीहरु प्रहरीलाई देखेपछि बोरा फालेका थिए । शंकास्पद मानेर प्रहरीले बोरा खोल्दा पेस्तोल भेटिएको एसपी ओमबहादुर रानाले जानकारी दिनुभयो । गोली भने सलिमले लगाएको स्टकोटको बाया खल्तीबाट बरामद भएको थियो ।
हतियार काण्डमा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १३२ बमोजिम ५ वर्षसम्म कैद र ५० हजार जरिवानासम्म हुन सक्ने व्यवस्था रहेको छ ।


यसैगरी, बाँके प्रहरीले जंगली जनावर चित्तल मारेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । राप्तीसोनारीका २३ वर्षीय सामेल रोका र नेपालगञ्जका २८ वर्षीय अन्जन हमाललाई मारेको चित्तलसहित प्रहरीले पक्राउ गरेको हो ।
बाँके प्रहरीले अर्को पनि घटना सार्वजनिक गरेको छ । दुई महिनादेखि अपहरणमा परेकी १७ वर्षकी किशोरीको उद्धार गरेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । एकजना भने फरार रहेको जनाएको छ । प्रहरीले बर्दिया बढैयातालका मुकेश यादव र हरिराम अहिरलाई नियन्त्रणमा लिएको छ । अगलेश यादव भने फरार रहेका छन् ।
उनीहरुले किशोरी ललाई फकाई नियन्त्रणमा लिएर भारतको उत्तर प्रदेशको बादलपुरमा बन्धक बनाएर राखेका थिए ।
यी तिन वटै घटना बाँके प्रहरीले कार्यालयमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।


error: यो सुविधा उपलब्ध छैन !