अधिवक्ता शाहको ‘चौकीदारदेखि वकिलसम्म’ बजारमा आउँदै

नेपालगञ्ज – नेपालगञ्जका सफल युवा कानून व्यवसायीको परिचय बनाइसकेका अधिवक्ता लोकबहादुर शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक हो, ‘चौकीदारदेखि वकिलसम्म ।’ सुदूरपश्चिमी पहाड अछामको गरिबी र दुःखले थिचेको विकट गाउँबाट उठेर शाहले फराकिलो क्षितिज पहिल्याउँदाको जीवन संघर्षको कथा पुस्तकमा उतार्नु भएको छ ।
छाउपडी प्रथा, हटारु जीवनशैली र भारतको चौकीदारीको आफ्नै अनुभूति मात्र होइन, उहाँले व्यवसायिक संघर्षका उतारचढावका संस्मरणहरु पनि समेट्नु भएको छ । अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिनु भएका अधिवक्ता शाहले मेलारुखको नेराप्राविबाट अध्ययन शुरु गर्नुभयो । २०४६ सालमा एसएलसी पास गरेपछि सुर्खेतमा आइएल पढ्नु भएका शाहले त्यसपछिको पढाई नेपालगञ्जबाट गर्नुभयो । २०५१ सालमा नेपालगञ्ज पढ्न आउनु भएका शाह यहीको स्थायी बासिन्दा हुनुभयो ।
एसएलसी पास भएपछि भारतको बम्बईमा दाजुहरुसँग चौकीदार गर्न गएको, नेपालगञ्जमा १८ वर्षको डेराको यात्रा, पहिलो बहस गर्दाको अवस्था, परिपक्व वकिल देखिन कालो कोट र जुँगा पालेका सम्झनाहरु कितावमा पढ्न पाइन्छन् । बराबरी मत आएपछि गोलाप्रथाबाट बारको अध्यक्ष हुनु भएका शाह गणित विषय छल्न कानुन बिषय पढ्नु भएको थियो । गणित पढ्न नपरोस् भनेर कानुन पढेका शाह कालान्तरमा नेपालगञ्जको मात्रै नभएर देशकै चर्चित कानूनी व्यवसायी बन्न सफल हुनु भएको छ । पुस्तकमा उहाँका दुःख र संघर्षहरु उतारिएको छ । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले पुस्तकको सम्पादन गर्नु भएको छ ।
क्रियटिभ बुक्स छैठौ पुस्तकका रुपमा शाहको चौकीदारदेखि वकिलसम्म प्रकाशनको तयारीमा जुटेको छ । अध्यक्ष टीएस ठकुरीले छोटो समयमै छैठौ पुस्तक तयार पार्न सफल भएको बताउनुभयो । ‘हाम्रा प्रकाशनहरु पाठकले मन पराइदिनु भएकै कारण हामीलाई अझ परस्कृत भएर विभिन्न व्यक्तित्वहरुको जीवन कथा लेख्न प्रेरणा मिलेको छ,’ अध्यक्ष ठकुरीले भन्नुभयो ।
दुःखको चौघेरा पन्छाएर सफलताको सिढी चढ्न खोज्ने युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी हुने ठकुरीले बताउनुभयो । पुस्तक यही असोज महिनाको अन्तिममा बजारमा आउँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !