साढे तीन किलो चरेशसहित बागवान समातिए
नेपालगञ्ज – बाँके प्रहरीले साढे तीन किलो चरेशसहित एकजनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार, डुडुवा गाउँपालिका वडा नं. ४ का रमजानअलि बागवानलाई तीन किलो पाँच सय ग्राम चरेशसहित पक्राउ गरिएको छ । प्रहरीले विशेष सुराकका आधारमा बागवानलाई समातेको हो ।
प्रवक्ता खड्काले बागवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउनुभयो । पहाडी जिल्लामा उत्पादन हुने चरेश नेपालगञ्ज हुँदै भारत लैजाने गरिन्छ । पहाडको चरेश र भारतीय शहरबाट आउने ब्राउनसुगरको मुख्य कारोबार स्थलका रुपमा नेपालगञ्जलाई चिन्ने गरिन्छ । लकडाउन, निषेधाज्ञाका बीचमा पनि लागु औषधीको कारोबार चलिरहेको देखिन्छ ।