हिन्दु संस्कृति र समय रेखा
नेपालगञ्ज – हाम्रा धर्मशास्त्रहरु विश्वमा सर्वोत्कृष्ट छन् । यसमा दुइमत छैन । चतुर्वेदलाई सर्वोत्कृष्ट मानिन्छ । श्रीमदभागवत गीता भन्दा स्तरीय, सर्वोच्च, ज्ञानवर्धक र ब्यवहारिक भएकोमा पनि कसैको दुइमत नहोला । चतुर्वेदमा विशेष गरि ऋकवेदमा इन्द्र, अग्नी र वायुको स्तुतीका साथै यजुर्वेदमा यज्ञ आदिको स्तुती छ । यी दुबैमा परमाणु र किटाणुको पनि वर्णन पाइन्छ । ब्रम्हको स्वरुप जुन ज्योतीर्मय, सर्बशक्तिमय र सर्वज्ञानमय र अति परम पबित्र सुख स्वरुप आनन्दमय आत्मा हो, यसको बारेमा पनि उल्लेख छ । भृगुऋषीले नै ज्योतिषीय ज्ञानको आबिष्कार गरेका थिए । साथै हाम्रो गौरवशाली संस्कृतिमा शोध र खोेजको लामो फेहरिस्त छ । यद्यपि हामी स्वयम नै यसबारे अनभिज्ञ हुनुको साथै अभिरुचि नराख्नुमा बहादुरी ठान्छाँै । हाम्रा अनेक ग्रन्थहरु जस्तै श्रीमदभागवत महापुराण, श्री मद्देबी भागवत महापुराणदेखि अन्य कतिपय ग्रन्थहरुमा उल्लेखित कथाहरु अर्थात इतिहासहरुकै आधिक्यता छ । ती कथाहरुलाई मिथक मान्नेको संख्या बढि छ । श्रुती र स्मृतिबाट संरक्षित हाम्रा ग्रन्थहरुमा कथा वाचकका आफ्ना मत र ज्ञान अनुसारको विचार र बुझाई प्रशस्त जोडिएको स्पष्ट बुझ्न सकिन्छ । तर यसको पछि रहेको बास्तबिकतालाई नकार्न सकिन्न । ती यस्ता महान अध्ययन र अनुसन्धान छन्, जसबारे पुनः अध्ययन र बोध हुन आबश्यक छ । आधुनिक विज्ञानमा समय रेखा अर्थात चौथो आयामको बारेमा निकै चर्चा, चासो, कौतुहल र चुनौतीको भएको छ । ब्यतिmले समय रेखामा यात्रा गर्न हाललाई सम्भव हुन सक्दैन भनेर पश्चिममा बैज्ञानिकहरु ठोकुवा गर्दछन् । साथै प्रकाशको गति बराबरको यात्रा पनि अन्य आबिष्कार नहुँदासम्म असम्भब भनि भन्छन् । तर हाम्रा ग्रन्थमा यस्ता परिघटनाहरुको भरमार छ ।
यस्ता घटनाहरुमा मैले प्रमुख रुपमा श्री कृष्णका दाजु शेषवतार श्री बलरामकी पत्नी रेवतीबारे उल्लेख गर्ने प्रयत्न गर्दैछु । यसबारे श्री मद्देबी भागवत महापुराण, द्वितिय खण्डको आठौँ अध्यायमा राजा जन्मेजयको प्रश्नमा बेदव्यासले जवाफ दिनुभएको छ । राजा रेवत थिए । उनको अत्यन्त सुन्दरी पुत्री रेवती थिइन् । विवाह योग्य भएपछि अनेकौ वीर प्रतापी राजाहरु र राजकुमारहरुबाट विवाहको प्रस्ताव आउँछ । तर राजा रेवतलाई निर्णय गर्न कठिन हुन्छ । तसर्थ उनको मनमा बिचार आउँछ की उनी आफ्नी छोरी रेवतीलाई साथमा लिएर सशरीर ब्रम्हलोक गएर ब्रम्हाजीसित नै वर रोजीदिन आग्रह गर्ने र उनको आज्ञा अनुसार छोरीको विवाह गरिदिने । उनले त्यसै गर्छन् । ज्ञात रहोस् यसरी सशरीर ब्रम्हलोक, स्वर्ग र अन्य लोक जाने बाबु छोरीहरु भने पहिलो व्यक्ति थिएनन् । पुराण अनुसार यी लोकहरु यति टाढा अवस्थित छन् की मृत्यु पश्चात मात्र जान सकिन्छ । तर अर्जुन पाँच बर्ष स्वर्गमा बसेको कुरो महाभारतमा उल्लेख छ । ककुत्स्थ प्रभृति र अनेक राजा पनि पार्थिव शरीरमै इन्द्रलोक गएका थिए । रामका पिता राजा दशरथले पनि इन्द्रलोक गएर इन्द्रलाई युद्धमा सहयोग गरेका थिए । राजा महाभिष पनि सशरीर स्वर्ग गएका थिए । कतिपय दानवहरु पनि स्वर्गको अधिपति भएका थिए । यही अध्यायमा पुण्यात्मा, तपस्वी र समर्थ व्यक्ति पार्थिव शरीरमा अर्थात सशरीर स्वर्ग बैकुण्ठ, ब्रम्हलोक जान सक्ने भनी उल्लेख गरिएको छ । तर यसै अध्ययाको छैटौ र सातौ श्लोकहरुमा दिव्य सुमेरो पर्वतको शिखरमा इन्द्रलोक, बह्नीलोक, यमलोक, सत्यलोक, कैलाश तथा बैकुण्ठ लोक बिद्यमान छन् भनेर भनेको छ । यस अनुसार यी लोकहरु पृथ्वीकै हिमाली भागमा हुनु पर्छ । तर यो कुरो राजा रेवत र उनकी राजकुमारी रेवतीसित मेल खादैन । रेवतीको कथा आजको बैज्ञानिक युगको चौथो आयमको यात्रासित हुबहु मिल्न जान्छ । किनभने जब राजा आफ्नी राजकन्यासित ब्रम्हलोक पुग्छन् त्यहाँ त्यति बेला नाचगान चल्दै थियो । उनीहरुले पनि केही क्षण बसेर आनन्द लिदै थिए । कार्यक्रम सकिएपछि उनले ब्रम्हामाजीलाई आफ्नो सबै समस्या बारेमा अनुरोध गरे । यो सुनेर ब्रम्हा मुस्कुराउनु भयो । भन्नु भयो, तिमी जुन प्रयोजनका लागी आएका छौ राजन, त्यो त पूर्ण हुन सक्दैन । तिमी यहाँ आइपुग्दा र त्यतिबेर बस्दा पृथ्वीमा सत्ताइसवाँँ द्वापर युग चल्दै छ । (२७ र २८ श्लोक) तिमीले भनेका व्यक्तिहरु लाखौ बर्ष पहिले मरिसके तिम्रो भनिएको राज्य अब राक्षसहरुले राज गर्दै छन् । तिम्रा आफन्तीहरु पनि सबै मरिसके । तिमीहरु फर्क त्यहाँ हाल मथुरा भन्ने देश छ । त्यहाँ बसुदेब पुत्र, श्री कृष्णका दाजु शेषावतार बलभद्र अर्थात बलराम छन् । उनै रेवतीको पाणी ग्रहणको लागी उपयुतm वर हुन् । राजा जन्मेजयको उत्तरमा व्यासजीले भन्नु भयो । ब्रम्हलोकको बिशेषता यो छ की त्यहाँ भोक, प्यास, मृत्यु, भय, बुढापा र ग्लानी आदिले प्रभाव पार्दैन । तसर्थ कैयौ युग बदलिए पनि, कैयौँ प्रलय भएपनि रेवती युवतीनै भइरहिन् ।
यो घटनालाई हामी मिथक मान्ने हो र केवल मनोरञ्जनको लागी लेखिएको भन्ने हो भने बलराम थिए । कृष्ण पनि थिए । भागवतमा महापुराण र गीता तिनका प्रमाण हुन् । बलरामकी पत्नी रेवतीनै हुन् । यो कुरालाई गम्भीरताका साथ खोजी र अनुसन्धान गरिन आवश्यक छ । किन भने जुन कुरोलाई आजको अत्यन्त विकसित ज्ञानले असम्भव मानेको छ त्यो कुरा हाम्रो संस्कृतिमा सम्भव थियो, कुनै दिन । त्यो क्षमता उनीहरुले कसरी विकसित गरे भनेर फेरी अर्को पाटोबाट अध्ययन गर्नु विज्ञान र अध्यात्म दुबैको खोजीको विषय हो ।