आइसोलेसनबाट थुनुवा भागे, प्रहरी कारबाहीमा

नेपालगञ्ज – बाँकेको आइसोलेसन सेन्टरबाट प्रहरीका थुनुवा भागेका छन् ।
खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसनबाट प्रहरीका थुनुवा भागेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा रहेका लागु औषधी कोरेक्स मुद्दाका थुनुवालाई भदौ ५ गते पोजिटिभ देखिएपछि कृषि तालिम केन्द्रको आइसोलेसनमा लगिएको थियो । थुनुवा आइतबार भागेका हुन् ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भागेका थुनुवाको खोजी भइरहेको बताउनुभयो । ‘ठूलो मुद्दा थिएन । ५ सीसी कोरेक्स मुद्दाका दुई जनामध्येका एक थिए, उनी । आइसोलेसनबाटै भागे, एसपी रानाले भन्नुभयो, खोज्न टोली परिचालन गरिसकेको छौं । फेला परिहाल्छ ।’
थुनुवा भागेपछि आइसोलेसनको सुरक्षार्थ रहेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानेर केरकार थालिएको छ । उनीहरु कारबाहीको दायरामा आएका छन् । खजुरास्थित आइसोलेसनमा असईको कमाण्डमा ५ जना प्रहरी खटिएका थिए । एसपी रानाले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने परिपाटी बसाएका छन् ।
यसैबीच, पोजिटिभ रिपोर्ट आएपछि कोहलपुरबाट भागेका भारतीय फेला पर्न सकेका छैनन् । उनी भारततिरै भागेको आकलन गरिएको छ । उसको पनि खोजी भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !