अन्ततः प्रितीले छोरी जन्माइन्
नेपालगञ्ज – डुडुवा–१ की प्रिती खटिकले अन्ततः माँ जानकी अस्पतालमा आएर छोरी जन्माएकी छन् । शल्याक्रिया गरेर छोरी जन्मिएको छ ।
सुत्केरी हुनुअघि प्रितीले नेपालगञ्जमा पाउनु दुःख पाइन् । विहान ७ बजे बेतहनी स्वास्थ्य चौकीले प्रितीलाई नेपालगञ्ज रिफर गरेको थियो । त्यसपछि प्रितीसहितका घरपरिवार ११ बजेतिर नेपालगञ्ज आइपुगे । नेपालगञ्ज आएपछि शुरुमा भेरी अस्पताल गए । भेरीले नर्सिङहोम पठायो । अनि नर्सिङहोम जादा त्यहाँबाट फेरि भेरीमा पठाइयो । यो बीचमा उनीहरु वेष्टर्नमा गए । त्यहाँ बेड खाली छैन भनेर भर्ना लिइएन ।
केही उपाय नलागेपछि उनीहरु नर्सिङहोम नजिक सुस्ताएर बसेका थिए । कुरा सिडिओसम्म पुग्यो । सिडिओले बर्दियाको गुलरिया जान भने । प्रिती मानिनन् । यतिबेलासम्म प्रितीको पानी बग्न थालिसकेको थियो । उनीहरु नेपालगञ्जदेखि उदयपुर स्वास्थ्य चौकीका लागि हिडे । कहिले साइकलमा त कहिले हिडेर पानी चुहाउदै प्रिती उदयपुर पुगिन् । बच्चा उल्टा भएकाले उदयपुरले सकेन । र, अप्रेशन गर्नु पर्ने ठहर गरेर माँ जानकीमा पठायो । यो सबै प्रक्रियामा स्वास्थ्य कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी लागि परिरहेका थिए ।
अन्ततः प्रितीले माँ जानकी अस्पतालमा शल्याक्रियाबाट छोरी जन्माइन् । विहानदेखि नेपालगञ्जको विभिन्न अस्पतालको चक्कर काटेर हैरान भएका प्रितीका जेठाजु माधवरामले सकुशल बच्चा जन्मिएपछि सबैलाई धन्यवाद दिएका छन् । विहानदेखि प्रितीलाई सहयोग गर्न लागि परेका एकजना स्वास्थ्यकर्मी भन्छन्, ‘राम्रो भएपछि त फोटो खिँचाउन धेरै मान्छे पुगे । जसले पानी चुहाउदै कहिले साइकल त कहिले हिडेर उदयपुर जादा एउटा एम्बुलेन्ससमेत व्यवस्था गर्न सकेका थिएनन् ।’