न्यायाधीश बनेर ८२ हजार बुझेपछि…

नेपालगञ्ज – बाँके पुरैनाका धर्मेन्द्र काँदु ‘एनसेल लक्की ड्र’ ठगी मुद्दामा कारागारमा थिए । त्यहाँ उनको चिनजान लागु औषधी मुद्दामा जेल परेका व्यक्तिसँग भयो ।
जिल्ला अदालतको आदेशमा ठगीमा कारागार पुगेका काँदु उच्च अदालतको आदेशमा धरौटीमा छुटे । उनको मुद्दा अझै जारी नै छ । कारागारमा हुँदा लागु औषधीका थुनुवासँग उनको राम्रो दोस्ती भएको थियो । उनको सबै कहानी सुने ।
कारागारबाट धरौटीमा छुटेपछि काँदुले लागु औषधीमा थुनामा रहेका व्यक्तिका श्रीमतीलाई फोन गरे । महिलाको आवाजमा फोन गरेर काँदुले आफू न्यायाधीश भएको र एक लाख दिएपछि तिम्रो श्रीमानलाई छुटाइदिन्छु भनेछन् । न्यायाधीशले नै फोन गरेर पैसा मागेपछि लागु औषधीमा थुनामा परेका व्यक्तिका श्रीमतीले खोजखाज गरेर ८२ हजार दिइन् ।
न्यायाधीशलाई पैसा दिएपनि श्रीमान त छुटेनन् । पछि सबै कुरा पत्ता लाग्यो । काँदुविरुद्ध फेरि ठगी मुद्दा प¥यो । काँदुलाई समातेर खानतलासी गर्दा ७१ हजार बरामद भएको छ । अरु पैसा खाइसकेछन् । जिल्ला अदालतले काँदुलाई ठगी मुद्दामा फेरि कारागार पठाएको छ । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको इजलासले काँदुलाई कारागार पठाएको हो ।
ठगीमा ७ वर्षसम्म कैदको व्यवस्था रहेको छ । काँदु पटके ठगीमा परेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !