अस्पतालको चक्कर काट्दै गर्भवती, कोहीले भर्ना गरेनन्

नेपालगञ्ज – बाँकेको डुडुवाकी प्रिता खटिक गर्भवती छन् । उनको सुत्केरी हुने बेला पुगेको छ । स्वास्थ्यकर्मीका अनुसार, पेटमा बच्चा उल्टो छ ।
डुडुवा–१ की खटिकलाई स्थानीय स्वास्थ्य संस्थाले नेपालगञ्जको ठूला अस्पताल रिफर गरेको छ । विहानदेखि खटिकलाई लिएर जेठाजु माधवराम खटिकसहितको टोली नेपालगञ्जका तीन ठूला अस्पतालमा पुगिसकेका छन् । कसैले उनलाई भर्ना गर्न मानेको छैन ।
पहिला भेरी अस्पतालमा गएका उनीहरुलाई नर्सिङहोम पठाइयो । नर्सिङहोमले फेरि भेरी अस्पतालमा पठाएको छ । एकपटक वेष्टर्न अस्पताल पुगेका उनीहरुलाई बेड खाली नभएको भन्दै फिर्ता गरियो । खटिक परिवार अस्पतालको चक्कर लगाउँदा लगाउँदै हैरान भएका छन् ।
जेठाजु माधवराम भन्नुहुन्छ, ‘कुनै अस्पतालले लिनै मान्दैनन् । हामीलाई त साह्रै गाह्रो भयो । के गर्ने होला ?’ उहाँका अनुसार, शुरुमा भेरी अस्पतालमा पुग्दा नर्सिङहोम पठाइयो । नर्सिङहोमले फेरि भेरीमा जाउ भनेर पठायो । वेष्टर्न अस्पतालमा जादा वेड खाली छैन भनेर भर्ना लिएन । के गर्ने अब घरमै लैजानु पर्ला ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले गर्भवतीलाई अस्पतालमा राख्न लागि परेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !