बढ्दो साइकल ‘संस्कृति’
खजुरा – ‘दुई महिना भयो, म साइक्लिङ्गमा रमाउदै छु । नयाँ–नयाँ ठाउँ, फरक–फरक जीवनशैलीसँग पनि साक्षात्कार गर्दैछु । साइक्लिस्टको रूपमा रक्तदान गर्ने अवसर समेत जु¥यो । माउन्टेन बाइकमा रमाउन थालेदेखि छुट्टै आनन्द र रमाइलो भएको छ,’ हिमालय ड्रग कम्पनीका मेडिकल रिप्रेजेन्टिभ सुबास आचार्यको साइक्लिङ्ग अनुभव हो, यो ।
नेपालगञ्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन सिंह थापाको बुझाई छ, ‘नेपालगञ्जमा माउन्टेन बाइकिङ्गको क्रेज बढ्दो छ । दिनहुँ साइक्लिङ्ग गर्नेको संख्या थपिदै छ । अझै यो कोरोना महामारी पछिको अवस्थामा त ह्वात्तै बढे साइक्लिस्टहरु बढेका छन् ।’
गगन थापा साइक्लिस्ट मात्र हैनन्, आफ्नो रुचीलाई पेशाको रूपमा समेत अंगालेर बिगत २ बर्षदेखि माउन्टेन बाइकको ब्यबसायमा समेत आबद्ध छन् । उनी आबद्ध नेपालगञ्ज बाइसाइक्ल्स प्रालीले नेपालगञ्जमा छोटो समयमा नै एउटा महत्वपूर्ण स्थान लिएको छ । नेपालगञ्जमा महंगो र ब्रान्डेड साइकल खोजी गर्ने जो सुकैको मुख्य रोजाईको साइकल पसल भएको छ, अहिले नेपालगञ्ज वाइसाइक्ल्स । जहाँ बिश्व प्रसिद्ध साइकलको ब्रान्ड ट्रेक कम्पनीका साइकल बिक्री हुने गरेको छ । त्योसँगै नेपालगञ्ज बाइसाइकल्सले ट्रिन्क्स, फ्युरी, क्युब र ट्विटर ब्रान्डका साइकल समेत बेच्दै आएको छ ।
साइक्लिस्ट तथा ब्यबसायी गगन थापाले सुनाए अनुसार, हामीले नेपालगञ्जमा झन्डै ३ लाख सम्मका साइकल समेत बिक्री गरियो । अहिले सस्तो भन्दा ब्रान्ड कन्सियस ग्राहक बढेका छन् । शुरुमा आफुले ४० हजार मूल्यको साइकल चढेर हिड्दा धेरैले जिस्काएको र आफ्नो मजाक उडाउने गरेको बताउँछन्, गगन थापा । नेपालमा भएका प्रायः साइकलका इभेन्टहरु बिगत २ बर्षदेखि नछुटाइ सहभागिता जनाउदै आएका गगन थापाले भारतको नैनिताल मात्र होइन, मुगुको रारा तालसम्मको साइकल यात्रा गरिसकेका छन् ।
नेपालगञ्जमा पुस्तक ब्यबसाय गरेर बसेका पुस्तक तथा स्टेसनरी ब्यबसायीका जिल्ला सचिव समेत रहेका प्रदीप सापकोटासँग पनि साइक्लिङ्गका रोचक अनुभवहरु छन् । उनी आफ्नो अनुभव यसरी सुनाउँछन्, मैले साइक्लिङ्ग शुरु गरेको एक बर्ष भयो । यो अवधिमा मैले आफ्नो शरीरको वजन घटाएको छु र यसलाई आफ्नो काबुमा राखेको छु । वातावरणमा सकारात्मक प्रभाव, स्वस्थ्य आर्जन समेत भएको छ । शारीरिक ब्यायामका लागि सबैभन्दा उपयुक्त मैले साइक्लिङ्ग नै ठाने । यसले गाउँ शहर पनि घुमाएको छ भने सँगसँगै शारीरिक तन्दुरुस्ती पनि । साइक्लिङ्गसँगै थुप्रै साइकलका इभेन्टहरु सहभागी हुँदाका मिठा अनुभवहरु पनि छन्, प्रदीप सापकोटासँग । उनी सुनाउँछन्, कैलालीमा रहेको गर्भा दरबारसम्मको साइकल यात्रा अबिस्मरणीय बन्यो । ठाडो उकालो साइकल कुदाएर पुग्दा जति हैरानी भयो, त्यो भन्दा धेरै खुशी त्यहाँ पुगिसकेपछि त्यहाँ रहेको एतिहासिक दरबारको अवलोकन र प्राकृतिक छटाले गरायो ।
साइक्लिङ्गका अनुभूति सुनाउदै नेपालगञ्जका कमलेश कर्ण भन्छन्, नेपालगञ्ज वरपरका नयाँ–नयाँ ठाउँ मज्जाले हेर्न र घुम्न पाइयो र बिहान बिहान साइक्लिङ्गमा निस्कदा स्वच्छ हावासँगै शान्तिको समेत अनुभूति भयो । शरीरमा ताजगी त छदैछ, स्वस्थता समेत कायम भएको छ ।
साइक्लिङ्गमा अहिले नेपालगञ्जमा सबै क्षेत्रका र सबै उमेर समूहका मानिसको सक्रियता छ । यसलाई नेपालगञ्ज साइक्लिङ्ग क्लवले समन्वय गरिरहेको बताउँछन्, क्लबका सचिव सुरेन्द्र दिप कार्की । उनी भन्छन्, डाक्टर, वकिल, पत्रकार, युवा , बिद्यार्थी, राजनीतिकर्मी देखि सामाजिक अभियन्ताहरु समेत यो अभियानमा सहभागी छन् । छोटो अवधि मै नेपालगञ्जमा बढेको साइकल संस्कृतिले नेपालगञ्जको छुट्टै पहिचान स्थापित गरेको ठहर क्लब सचिव कार्कीको छ । सचिव कार्की थप्छन्, नेपालगञ्जमा देशभरबाट त आए आए ‘टुर दि ठाकुरद्वारा’ इभेन्टमा सहभागिता जनाउन भारतको बरेली र नैनीतालबाट समेत साइक्लिस्ट आउँदा नेपालगञ्जको पहिचान र परिचय बदलिएको मात्र छैन, साइकलेहरुले नेपालगञ्जलाई देशैभर चिनाएका पनि छन् ।
यसरी नेपालगञ्जलाई साइकलको शहरका रूपमा फरक पहिचान सहित स्थापित गरिरहँदा नेपालगञ्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणाले पनि साइकल गतिविधिमा सहभागिता मात्र जनाएका छैनन्, मेयर कप साइकल प्रतियोगिताका २ सिरिज गर्न नेपालगञ्ज साइक्लिङ्ग क्लबलाई सहयोग पनि गरेका छन् । मेयर राणाकै यो कार्यकाल भित्र नेपालगञ्जको सडकमा केही किलोमिटर मात्र भएपनि साइकल लेनको शुरूवात होस् भने अपेक्षा सहित, जय साइकल ।