बाँकेमा एक सय ९१ दुर्घटना

 

नेपालगञ्ज – बाँकेमा गत वर्ष एक सय ९१ वटा सवारी साधन दुर्घटनामा परेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका अनुसार, उक्त दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । जिल्ला इन्चार्ज प्रहरी निरीक्षक पविन्द्र बमले दुर्घटनामा ३ सय ८० जना घाइते भएको जानकारी दिनुभयो ।
दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले स्थानीय तहसँग समन्वय गरेर शहरी क्षेत्र र भीडभाड हुने स्थानहरुमा जेव्रा क्रसिङ, दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङस्थल तोकेको छ । तर, सवारी चालकले जथाभावी जहाँ मन लाग्यो त्यही सबारी साधन पार्किङ गरिदिंदा समस्या आएको ट्राफिक प्रमुख बमले बताउनु भयो ।
यसैबीच, बाँके प्रहरीले नेपालगञ्जको शहरी क्षेत्र लगायत बढी भीडभाड हुने स्थानमा पार्किङलाई ब्यबस्थित गर्न सुरु गरेको छ ।
डिउटीमा खटिएको प्रहरीले बारम्बार अनुरोध गर्दा पनि अटेर गरेर जथाभाबी पार्किङ गर्ने समस्या कम नभए पछि बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर राना आफै पार्किङलाई ब्यबस्थित गर्न खटिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख बमसहित नेपाल प्रहरी र ट्राफिक प्रहरीको एउटा टोलीले अव्यवस्थित रुपमा पार्किङ गरीएका सवारी साधनको टायरमा व्हील लकरको सहायताले ‘लक’ गरी कारबाही गर्न सुरु गरेको छ ।
सडकमा अव्यवस्थित रुपले जथाभावी पार्किङ गरी राखिएका सवारी साधनका कारण ट्राफिक जाम भई दुर्घटनाको जोखिम बढ्ने, शहरी क्षेत्रको जनजीबन अस्तब्यस्त हुने भएका कारण पार्किङलाई ब्यबस्थित गर्न सुरु गरिएको हो ।
सडकमा ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई व्हील लकरको माध्यमबाट ‘लक’ गरी कानून अनुसार कारबाही गरेर जथाभाबी पार्किङ गर्ने कार्यलाई निरुत्साहित गर्न सुरु गरिएको बाँकेका प्रहरी उपरीक्षक रानाले बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !