मेयरले दिए खाना
नेपालगञ्ज – कोहलपुरका मेयर लुटबहादुर रावतले विपन्नलाई खाना वितरण गर्नु भएको छ ।
माइती नेपालले सञ्चालन गरेको खाना अभियानअन्तर्गत मेयर रावतले हवल्दापुरको स्कूलमा पुगेर विपन्नलाई खाना वितरण गर्नु भएको हो ।
सो अवसरमा मेयर रावतले मानव बेचबिखन तथा ओसारपसारविरुद्धमा सक्रिय रुपमा काम गरिरहेको माइती नेपालले कोरोनाको कहरबीच विपन्नलाई खाना खुवाएर पुण्यको काम गरेको बताउनुभयो ।
स्कूलमा बसेर आसपासका गाउँका दुई सय पाँच जनालाई खाना वितरण गरिएको थियो । माइती नेपालले नेपालगञ्जको एक होटलमा खाना पकाएर प्याक गरी गाउँगाउँमा पुगेर विपन्नलाई खुवाउने गरेको छ ।
असार १६ गतेबाट शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढीलाई खाना खुवाई सकेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं. १३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नं. १९ को आलानगर, मोहनपुर, वडा नं. २० को गायत्रीनगरमा खाना बितरण गरिसकिएको छ । नेपालगञ्ज क्वारेन्टिनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका व्यक्तिहरुलाई पनि यस अभियानका क्रममा खाना बितरण गरिएको थियो ।
दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियानअन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाउने तयारी रहेको छ ।