धम्बोझीका भेट्रानहरु

नेपालगञ्ज – नेपालगञ्जको वडा नं. १, धम्बोझीलाई खेलकुदको उर्वरभूमि भन्दा हुन्छ । भेट्रानहरुको लामो तथ्यांकले त्यो भन्न कुरै लाग्छ । फुटबलको कुरा गर्दा धम्बोझीको नाम अगाडि नै आउँछ । धम्बोझीमा पुराना फुटबल खेलाडीको लिष्ट लामो रहेको छ । त्यो लिष्ट हेर्दा अहिले मात्रै होइन, धम्बोझीले पञ्चायतकालदेखि फुटबलमा दबदबा राखेको स्पष्ट हुन्छ ।
नरशमशेरको नामबाट राखिएको नर ट्रफी, भेरी च्यालेन्ज शिल्ड पुरानो प्रतिष्ठित प्रतियोगिता हुन् । यी प्रतियोगितामा भेरी अञ्चलको टीम बन्दा धम्बोझी छुट्दैनथ्यो । एन्फाका पूर्वउपाध्यक्ष गोवद्र्धनसिंह सम्झना फुटबलमा धम्बोझीले पञ्चायतकालदेखि नै दबदबा राखेको बताउनुहुन्छ । सम्झना आफै पनि फुटबल खेलाडी हुनुहुन्छ ।
धम्बोझीका बलराम शाही, दानबहादुर शाही, सुनिल शाही, दीपक शर्मा, विष्णुमान श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, प्रदीप डिसी, भीम गुरुङ, रविन्द्र श्रेष्ठ, दीपबहादुर महतरा, भोजराज शाही, भक्त राना कुनै जमानाका फुटबलका स्टार हुन् । राष्ट्रिय टीममा समेत स्थान जमाइसकेका यी खेलाडीले भरिएको धम्बोझी बाँकेमा जुनसुकै प्रतियोगिता हुँदा फाइनलमा पुगेको हुन्थ्यो । बाँके जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका धम्बोझीका पुराना खेलाडी भोजराज शाही भन्नुहुन्छ, ‘धम्बोझीसँग पर्दा विपक्षीहरु पहिले नै डराएका हुन्थे । त्यतिबेला धम्बोझीलाई टक्कर दिने भनेकै खजुराको टीम हुन्थ्यो ।’
घरको वातावरणले सन्तान, दरसन्तानमा खेलले निरन्तरता पाएका हुन्छ । बुवाले खेलेको देखेर छोराछोरी आकर्षित हुनु सामान्य नै हो । भेट्रान खेलाडीको नाम हेर्दा र अहिलेको धम्बोझी क्लवको दबदबालाई हेर्दा अघिल्लो पुस्ताको खेल हेर्दै सन्तानहरु त्यसैतिर आकर्षित भएकोजस्तो देखिन्छ ।
धम्बोझीले फुटबलर मात्रै होइन, अन्य खेलाडी पनि जन्माएको छ । धम्बोझीका राजुराज शाही भलिबलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । वि.सं. २०३२ देखि २०४२ सालसम्म शाहीले राष्ट्रिय जर्सी लगाउनुभयो । शाहीले सन् १९८२ मा दिल्लीमा एसियन गेम खेल्नुभयो । बाँकेका भलिबलका सिनियर खेलाडी राकेश श्रीवास्तव, तीर्थमान श्रेष्ठकै पछि–पछि धम्बोझीका शाहीले भलिबलको यात्रा गर्नु भएको थियो । शाहीका छोरा सिद्धान्तराज शाही अहिले धम्बोझीका उदयमान क्रिकेटर हुन् । धम्बोझीका सञ्जय शर्माले पनि भलिबलको यात्रा गर्नुभयो ।
धम्बोझीले कबड्डीमा शान्ति सिंहलाई जन्मायो । कबड्डीमा लामो यात्रा गर्नु भएका सिंह चिफ कोच नै हुनुभयो । उहाँले ब्याडमिन्टन पनि खेल्नु भएको थियो । सुटिङमा रमेश मल्ल, ब्याडमिन्टनसँगै सुटिङमा कलावती शेरचन, उसुमा राजु थापा, ब्याडमिन्टनमा अर्जुन क्षेत्रीको नाम बिर्सिन सकिदैन । सफ्ट टेनिस खेलाडीको नाम त धम्बोझीमा लामै छ । जनार्दनरत्न मल्ल, अनिल केसी, रञ्जितसिंह राठौर, विनोद रिजाल, उपमेयर उमा थापामगरले सफ्ट टेनिसमा जिल्लाको प्रतिनिधित्व गर्नुभयो ।
खेलाडी र खेलप्रेमीको बाक्लो बसोबास रहेको धम्बोझीले विगतदेखि नै खेलकुदलाई प्राथमिकता दिदै आएको छ । खेल संरचनाका कुरा आउदा धम्बोझीबासी एक हुनुको प्रमुख कारण नै खेलसंस्कार नै हो भन्दा हुन्छ ।
(वडा नं. १ ले हालै प्रकाशन गरेको ‘धम्बोझी’ नामक पुस्तकबाट साभार)


error: यो सुविधा उपलब्ध छैन !