कोरोनाको डर हराएकै हो त ?
नेपालगञ्ज – गणेशपुरको एक तरकारी पसल । तरकारी छान्दै प्लाष्टिकको झोलामा हाल्दै थिए, केही मानिस । त्यहाँ मास्क लगाएका पनि थिए, नलगाएका पनि थिए ।
मास्क लगाएका एकजनाले आलु छान्दै भने, ‘बहिनी ! थोरा दूर जाऔं । कोरोना सरजाई ।’ ती महिलाले जवाफ दिइन्, ‘कोरोना सोरोना कुछ नही है, नडराऔं । कुछ नही होगा ।’
ती महिलाले मास्क पनि लगाएकी थिइनन् । त्यहाँ अरु केहीले पनि मास्क लगाएका थिएनन् । उनले आत्मविश्वासका साथ मुस्कानसहित ‘कोरोना छैन र केही हुँदैन’ भन्दा केहीबेर हाँसोको वातावरण बन्यो ।
यी महिलाको भनाईलाई सापट लिइयो । उनले मास्क नलगाएको पनि हेरियो । उनीमात्रै होइन, नेपालगञ्जका धेरैले मास्क लगाएको पाइदैन । भारतबाट फर्किएकालाई प्रहरी प्रशासनले नै वडाध्यक्षको सिफारिस लिएर आउ अनि घर लैजाऊ भन्दै पठाउने गरेको छ । ती सोझो गृहिणी महिलालाई जस्तै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वडाध्यक्षहरुलाई ‘कोरोना छैन, केही हुँदैन’ भन्ने बुझाई भएको हो ? होइन भने, भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखेर वडाध्यक्षको सिफारिसमा धमाधम किन घर पठाइदै छ ? बजारमा किन मानिसहरु मास्कसमेत नलगाइ हिडेका छन् ?
कोरोनालाई मान्छेले पत्याउन नै छोडेका हुन् भने किन होटल, रेष्टुरेन्ट र यात्रुवाहक सवारी साधनलाई रोक्नु प¥यो । होटल रेष्टुरेन्ट र यात्रुवाहक सवारी साधन पनि चल्न दिऊ ! उच्च वर्ग त आफ्नो सवारी साधनमा हिडेकै छन् ।
कोरोना लागेका धेरै निको भए भनेर सावधानी अपनाउनै छाड्नु त भएन नि । सावधानी अपनाउनु प¥यो । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नुपर्छ भनेर जनचेतना बढाउनु प¥यो । भारतबाट आएका व्यक्तिलाई वडाध्यक्षको सिफारिसमा सिधैं घरमा पठाउदा समाजमा कोरोना फैलिन सक्छ । यसलाई नियन्त्रण गर्नु प¥यो । होइन, ती गृहिणी महिलाले भनेजस्तो हो भने त कसलाई के भन्नु र !
शुरुमा नेपालगञ्जमा ६० वर्षीय पुरुषलाई कोरोना लाग्दा हल्लीखल्ली भएको थियो । नेपालगञ्ज बाहिरका आफन्तीहरुले फोन गरेर घरबाहिर ननिस्कन सल्लाह दिन्थे । त्यतिबेला नेपालगञ्ज सुनजानजस्तै भएको थियो । यही नेपालगञ्ज हो, अहिले पनि कोरोना संक्रमित देखिन छोडेको छैन, मान्छेहरुले सावधानी अपनाउनै छाडिसके । वाह रे ! नेपालगञ्ज ।