बाल सुधार गृहमा ‘लुतो’
नेपालगञ्ज – डुडुवाको जयेन्दु बालसुधार गृहमा शनिवार निःशुल्क आयोजना गरिएको छाला जाँच शिविरमा ७० जना सेवा लिएका छन् ।
बागेश्वरी टेलिभिजनको आयोजना र स्वास्थ्य पेजको सहकार्यमा शिविर आयोजना गरिएको थियो । डुडुवा गाउँपालिकाले स्थानीय व्यवस्थापन गरेको थियो ।
बालसुधार गृहमा रहेका बालकहरुमा छाला सम्वन्धी समस्या भएको सार्वजनिक भएपछि स्वास्थ्य पेजको सहकार्यमा बागेश्वरी टेलिभिजनले कार्यक्रमको आयोजना गरेको टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाहले बताउनुभयो ।
सुधारगृहमा रहेका अधिकांश बालकहरुमा दाध, लुतोलगायतको समस्या रहेको चेकजाँचमा खटिएका भेरी अस्पताल नेपालगञ्जका बरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर बद्री चापागाईले जानकारी दिनुभयो ।
शिविरको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाह र डुडुवा गाउँपालिका ६ का वडाअध्यक्ष मोहन मिश्रले डाक्टर चापागाईलाई प्रिस्क्रीप्सन प्याड, पेन र फेस शिल्ड हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो ।