क्वारेन्टाइनमा घरकै खाना

खजुरा – मुना विसी दिनमा दुई पटक योगिनी माविको क्वारेन्टाइनमा आउनुहुन्छ । गौघाटको यो स्कूलमा बसेका दश जनामध्येमा दुई जना मुनाका आफन्त पर्छन्, ज्वाई र नाती । ज्वाई र नातीलाई खाना लिएर मुना विहान र साँझ आउनु हुन्छ ।
बिहान र साँझ खाना बोकेर क्वारेन्टाइनमा जानु मुनाको दैनिकी नै बनेको छ । मुनामात्रै होइन, खजुराको क्वारेन्टाइनमा रहेका सबै आफन्तीको दैनिक यस्तै छ । किनकी, खजुरा गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेलाई घरबाटै खाना पु¥याउनु पर्छ ।
खजुराको रनियापुरमा ४९, गिजरामा २२, केगाउँमा १९, कगाउँमा ४, धौलागिरीमा ६, मनकामनामा १२, सिदुरेमा १३, ४ नम्बर वडामा ३१ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा तीन महिनाकी सुत्केरीसमेत छन् । भारतबाट खजुरावासी आउने क्रम चलिरहेको छ । खजुरामा मात्रै सात हजार मानिस भारतबाट आउने आकलन गरिएको छ ।
क्वारेन्टाइनमै खानाको व्यवस्थापन नहुँदा घर र क्वारेन्टाइन जाने आउने व्यक्ति जोखिममा पर्ने डर रहेको एकथरी बताउँछन् । गाउँपालिकाले ५० रुपैया खाजा खर्च दिएको बुझिएको छ ।
क्वारेन्टाइनमा सबै भारतबाट आएका व्यक्ति छन् । सबैको कोरोना जाँच भइसकेको छैन । गाउँपालिकाले खाना घरबाटै बनाएर ल्याउने, सतर्कतापूर्वक आफन्तीलाई दिने व्यवस्था मिलाएको जनाएको छ । खाद्यान्न समस्या भएका घरपरिवारलाई सम्बन्धित वडाले हेर्ने भनिएको छ । जुन गाउँको हो, त्यही गाउँमा बनाइएको क्वारेन्टाइनमा उसलाई राखिएकाले घरपरिवारलाई विहान र बेलुका खाना लैजान समस्या नभएको गाउँपालिकाको दावी छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिलाई गाउँपालिकाले खाना व्यवस्थापन गर्न नसक्ने अवस्था हो ? प्रश्न गर्नेहरु पनि छन् । खजुरा त्यही पालिका हो, जसले जिल्लामा अरु पालिका भन्दा पहिला नै क्वारेन्टाइन बनाएर भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई राखेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !