अब नरैनापुरमा सेना
नेपालगञ्ज – कोरोनाको ‘इपिसेन्टर’जस्तै बनेको बाँकेको नरैनापुरमा सुरक्षा सतर्कताका लागि नेपाली सेनाको उपस्थिति हुने भएको छ ।
जिल्ला सुरक्षा समितिले नरैनापुरमा नेपाली सेनाको उपस्थिति गराउने निर्णय गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नरैनापुरमा सुरक्षा सतर्कता बढाउन नेपाली सेनाको उपस्थिति गराउने निर्णय भएको जानकारी दिनुभयो ।
‘नरैनापुरमा अब सेनाको पनि उपस्थिति रहन्छ, सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भन्नुभयो, भैरव गणबाट सेना खटिन्छन् ।’ अहिले नरैनापुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।
नरैनापुरमा केही दिन यता कोरोना संक्रमित लिन गएको एम्बुलेन्सलाई अवरोध गर्ने, कोरोना संक्रमितलाई भगाउनेजस्ता गतिविधि भएका छन् । यस्ता गतिविधिले कोरोना समुदायमा फैलिएर भयावह हुने अवस्था आएको गाउँपालिकाले निष्कर्ष निकालेको छ ।
भौतिक पूर्वाधार केही नभएको पालिकामा कोरोनाको सबैभन्दा धेरै बिरामी देखिएको छ । त्यसमा केहीले कोरोना संक्रमितलाई भगाउनेसम्मको गतिविधि गरेकाले गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले छिटो थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नु भएको थियो ।