कोरोनाले फैलाउदै ‘एरिया’

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाका १८ वर्षीय युवा जेठ ७ गते नेपालगञ्ज नाकाबाट भित्रिए । आएकै दिन उनलाई ज्वरो देखियो । भोलीपल्ट एम्बुलेन्समा हालेर नेपालगञ्ज ल्याइयो । परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो ।
ठूलोमध्येको राप्तीसोनारी गाउँपालिकामा कोरोना देखिने उनी पहिलो व्यक्ति हुन् । राप्ती सोनारीमा भारतबाट आएका एक सय ४० जना सात वटा क्वारेन्टाइनमा बसिरहेका छन् ।
खजुरा गाउँपालिका–५ मा हालसालै भारतबाट आएका व्यक्तिमा कोरोना पुष्टि भयो । खजुरामा एकजना स्वास्थ्यकर्मी पनि संक्रमित भइसकेकी छन् ।
यी दुई गाउँपालिकामा केही दिनयता कोरोना पोजिटिभ देखिएका छन् । बाँकेमा शुरुमा नेपालगञ्जमा २५ जना संक्रमित भेटिए । शुरुमा कोरोना देखिएका ६० वर्षीय व्यक्तिको सम्पर्कमा रहेकाहरु खोज्दै जादा २५ जना फेला परेका थिए । ती ६० वर्षीय बिरामी आफन्तीलाई भेटेर चैत्र १० गते नेपालगञ्ज आएका थिए । उनमा बैशाख १९ गते संक्रमण देखिएको थियो । यद्यपि, ६० वर्षीयसहित पहिला देखिएका २१ जना कोरोना जितेर फर्किसकेका छन् ।
बाँकेमा भारतबाट आएका व्यक्तिले कोरोना ल्याएका छन् । नेपालगञ्जबाट देखिन शुरु गरेको कोरोना नरैनापुर, खजुरा हुँदै राप्तीसोनारी गाउँपालिकामा पुगिसकेको छ । जिल्लाको आठ वटा पालिकामध्येमा चार वटामा कोरोना देखिसकेको छ ।
भारतबाट फर्किनेको संख्या बढ्दै जादा कोरोनाले पनि आफ्नो ‘एरिया’ बढाइरहेको छ । भारतबाट हुलका हुल नेपाली फर्किरहदा गाउँगाउँमा कोरोनाको जोखिम बढेको छ । नेपालगञ्ज नाकामा आइपुगेका नेपालीलाई सम्बन्धित जिल्ला, पालिकाको गाडीमा पठाउने गरिएको छ । दुई÷चार दिनको बिराएर नाकाबाट नेपालीलाई आउन दिंदा दुई हजार बढी भित्रिने गरेका छन् । नाकामा रहेको जमुनाहा प्रहरीका अनुसार, यही महिनामात्रै पाँच हजार बढी भित्रिसकेका छन् ।
जतिजति भारतबाट भित्रिएका नेपालीको संख्या बढ्दैछ, त्यति नै जिल्लामा कोरोना संक्रमित बढिरहेका छन् । लकडाउनले गर्दा भारतमा दुःख पाएर आएका नेपालीलाई भित्रिन नदिन पनि भएन । भित्रिन दिंदा कोरोना संक्रमण बढिरहेको छ ।
विशेष गरेर नरैनापुरमा संक्रमित बढिरहेकाले त्यहाँ उच्च सतर्कता आवश्यक देखिएको छ । गाउँपालिका प्रमुख मो. इस्तियाक अहमद शाहले कोरोना आफ्नो काबु भन्दा बाहिर गएकाले विशेष व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारसँग गुहार मागिरहेका छन् । यो पालिकामा मात्रै एक सय १४ जनामा कोरोना देखिसकेको छ ।
जिल्लामा अहिले भारतबाट आएका एक हजार सात सय २९ जना क्वारेन्टाइनमा बसेका छन् । अझै आउने क्रम जारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !