तीन ठाउँमा डोरीको ‘घेराबन्दी’

नेपालगञ्ज – नेपालगञ्जमा एकजनालाई कोरोना संक्रमण देखिएपछि नगरका तीन ठाउँमा डोरीले घेराबन्दी गरिएको छ ।
नगर प्रहरीले धम्बोझी, जुलाहनपुरुवा र डीएसपीरोडस्थित संक्रमितको घरलाई डोरीले घेर्दै सील गरेको हो । संक्रमितले जुलाहनपुरुवास्थित मस्जिदमा आउनुका साथै केटाकेटीलाई पढाउने भएकाले प्रहरीले टोललाई नै डोरीले घेरेर सील गरेको छ । डीएसपीरोडमा रहेको संक्रमितको घरलाई पनि डोरीले घेरेर सील गरिएको छ । धम्बोझीचोकमा रहेको मस्जिदलाई समेत डोरीले घेरिएको छ ।
फूलबारी मस्जिदमा चार वटा मस्जिदका धर्मगुरुको स्वाव संकलन गरेर परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ ।
संक्रमित लकडाउनको आसपासमा ससुराली नानपारा गएको बुझिएको छ । संक्रमित दैनिक जाने र आउने ठाउँमा सील गरिएको छ । प्रहरीले शुक्रबार साँझ तीन ठाउँमा डोरीले घेरेको थियो । आवश्यक परे अरु ठाउँमा शनिबार डोरी टाँगिने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !