नेताहरु किन पुगे दशगजा ?

नेपालगञ्ज – नेकपा र नेपाली कांग्रेसका जिल्ला नेतृत्व दशगजामा पुगेका छन् ।
तीन हप्तादेखि दशगजामा टाँगिएको टेन्ट (क्वारेन्टाइन) मा बसेका विभिन्न जिल्लाका व्यक्तित्वहरुलाई ‘सम्झाउन’ नेकपा र कांग्रेसका जिल्ला नेतृत्व दशगजामा पुगेका हुन् । सबै प्रक्रिया पूरा गरिसक्दा पनि सरकारले घरमा नपठाएको भन्दै उनीहरु आक्रोशित छन् ।
नेकपाका जिल्ला अध्यक्ष आइपी खरेल र जिल्ला सचिव अशोक कोइराला, कांग्रेसका जिल्ला अध्यक्ष किरण कोइरालाले दशगजामा पुगेर ‘आफूहरु तपाईहरुलाई घरमा पठाउन निरन्तर लागि परेको’ बताएका छन् ।
चैत्र १८ गते नेपालगञ्ज नाकामा आइपुगेका १ सय ८१ जनालाई दशगजामा क्वारेन्टाइन बनाएर राखिएको छ । उनीहरुको ‘आरडीटी’ जाँचसमेत गरिसकिएको छ । सबैको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ ।


सबै प्रक्रिया पूरा गरिसक्दासमेत घर जान नपाएपछि आक्रोशित रहेका उनीहरुलाई कहिले नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशमशेर राणा त कहिले प्रहरी प्रशासनका प्रमुखहरुले गएर सम्झाउने गरिरहेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई घरमा पठाउने प्रक्रिया अघि बढेको र केन्द्रको निर्णयको पर्खाइमा रहेको जानकारी दिनुभयो । ‘हामी निरन्तर लागिपरेका छौं । हेरौ, छिट्टै केही निर्णय आउला, प्रजिअ खड्काले भन्नुभयो । उता क्वारेन्टाइनमा बसेका व्यक्तिले भोलीसम्ममा कुनै निर्णय नभए आन्दोलन गर्ने चेतावनी दिएको बुझिएको छ ।
दशगजामा रहेका व्यक्तिले गत आइतबार नेपालगञ्जका मेयर डा. राणामार्फत प्रमुख जिल्ला अधिकारी खड्कालाई ज्ञापनपत्र बुझाएका थिए । त्यसमा सबै प्रक्रिया पूरा गर्दा पनि घर जान नपाएको गुनासो थियो । दशगजामा पुगेर मेयर राणाले बुझेको ज्ञापनपत्र पछि प्रमुख जिल्ला अधिकारी खड्कालाई बुझाइएको थियो ।


बाँकेमा जसरी विभिन्न ठाउँमा क्वारेन्टाइनमा धेरै मानिस बसेका छन् । ठूलो समस्या त सुदूरपश्चिममा छ । ठूलो संख्या भारततिर छन् । बाँकेमा रहेका व्यक्तिलाई घरमा पठाउने बित्तिकै अन्यत्रकालाई पनि पठाउनु पर्ने बाध्यता रहने भएकाले सरकारले सबै प्रक्रिया पूरा गरेपनि दशगजाका व्यक्तिलाई घर पठाउने आदेश दिइरहेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !