घरमै बसेर नमाज पढ्न धर्मगुरुको अपिल

नेपालगञ्ज – मुस्लिम धर्मगुरुहरुले घरमै बसेर नमाज पढ्न अपिल गरेका छन् ।
रमजानको पूर्वसन्ध्यामा नेपालगञ्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाज समेत घरमै पढ्ने गरी व्यवस्था मिलाउन अपिल गरेका हुन् ।
विश्वमा त्रासको वातावरण सिर्जना गरेको कोरोनाबाट जोगिन मुस्लिम धर्मगुरुहरुले यस्तो अपिल गरेका छन् । सम्वाद समूह बाँकेले बिहीबार गरेको अन्तरक्रियात्मक कार्यक्रममा धर्मगुरु, अगुवाले अहिलेको अवस्थामा घरमै बसेर नमाज पढ्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।
केन्द्रीय हज कमिटी पूर्व अध्यक्ष मौलाना अव्दुल जव्वार मञ्जरी, जामा मस्जिद नेपालगञ्जका मुुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पूर्व अध्यक्ष मौलाना मन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्दिकी, संविधान सभाका सदस्य भोला सिद्धिकी, मदरसा गौसीयाका सचिव मो. हारुन र मुस्लिम संगठन नेपालका सहसंयोजक अतहर हुसेन फारुकीद्वारा हस्ताक्षरित अपिलमा कोरोना नियन्त्रणमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न र धार्मिक तथा सामाजिक सद्भाव सुदृढ गर्न सबैले आ–आफनो क्षेत्रबाट संयमता अपनाउन पनि अनुरोध गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !