दुःख सहेर घर पुग्न लम्केकाहरु…

बसन्त शर्मा (काठमाडौं) –‘पहिले–पहिले जस्तो न त बाटोमा विश्राम स्थल छन्, न त थकाई मार्न पाटीपौवा नै छन् । प्यास मेटाउन पानी पिउने मूल र धारा पनि भेटिदैनन्’, बर्दियाका एक बटुवा कपिलबस्तु क्षेत्रमा थकाई मार्दै सडक छेउमा आफ्ना पीडा पोख्दै थिए । उनीहरुको परिवार राजापुर बर्दिया फर्किंदै थियो ।
पूर्वपश्चिम राजमार्गमा भोकै प्यासै हिडिरहेका सयौं बटुवाहरुको व्यथा यस्तै थियो । तर, जति दुःख सहेर पनि घर पुग्ने आशाले लम्केका छन्, उनीहरु । स–साना बालबालिका, महिला र वृद्ध पैदल यात्रामा देखिन्छन् ।
काठमाडौं, सोलुखुम्बु, रुपन्देही, ओखलढुंगालगायतका विभिन्न जिल्लामा मजदुरी काम गर्ने सर्वसाधारणहरु काम नहुने भए पछि लकडाउनका बीच आ–आफ्नो घर फर्किरहदा पूर्वपश्चिम राजमार्गमा यस्तो दृश्य देखिन्थ्यो ।
पैदल यात्रुहरुकालागी केही स्थानहरुमा सामान्य पानी र खाजाको ब्यवस्था भएपनि रात कटाउन र बस्न समस्या परेको छ । ठाउँ–ठाउँमा प्रहरीले जाँच गर्दा सास्तीको महसुस भएको छ, बटुवाहरुलाई ।


बाटोमा कतै पानी परेर त कतै चर्को घामले बटुवाहरु निकै थकित देखिन्छन् । विभिन्न जिल्लाबाट घर फर्किन हिंडेका बटुवाहरु कोही पूर्वबाट पश्चिम जाँदै गरेका छन् भने कति पश्चिमदेखि पूर्व ।
कतिपय युवाहरु साइकलको प्रयोग गरेर घर फर्किन थालेका पनि छन् । ठाउँ–ठाउँमा उनीहरुलाई प्रहरीले नाम र ठेगाना सहितको तथ्यांक सकंलन गरेको छ । यो कार्यमा नेपाली सेना र सशस्त्र प्रहरी पनि देखिन्छ ।
सडक छेउमा रहेका पसलहरु लगभग सबै बन्द छन् । प्रचण्ड गर्मीमा कतिपय यात्रुहरुका चप्पल–जुत्ता पनि च्यातिएका छन् । तर पनि उनीहरु गन्तब्यमा पुग्न लगातार हिडिरहेका देखिन्छन् ।
नेपालगञ्जदेखि काठमाडौं जाने क्रममा पूर्वपश्चिम राजमार्गमा यस्ता दृश्यहरु देखिए, मन चस्किने हुने दृश्यहरु । सरकारले मजदुरलाई विशेष व्यवस्था गर्न चुकेको यस्ता दृश्यले देखाइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !