धार्केबाट हिडेर आए भारतीय

नेपालगञ्ज – भारत लख्खिमपुर खिरीका ५२ जना धादिङबाट हिडेर नेपालगञ्ज आइपुगेका छन् ।
धार्केस्थित सत्या इट्टा भट्टामा काम गर्ने यी भारतीय ६ दिनमा नेपालगञ्ज आइपुगेका हुन् । बीचमा उनीहरुले दुई पटक गाडी चढ्ने मौका पाएका थिए । सडकमा अलपत्र परेकालाई केही जिल्लामा सवारी साधनको व्यवस्था गरेर आफ्नो क्षेत्र कटाइदिने गरेका छन् ।
२९ जना बालबालिकासहित ५२ जना ६ महिना अघि इट्टा भट्टामा पुगेका थिए । उनीहरु सबै नै सपरिवार छन् । साना साना बालबालिका छन् । सपरिवार इट्टा भट्टामा बस्ने र काम गर्ने गर्दथे । उनीहरुले एक हजार इट्टा बनाउदा साढे एघार सय रुपैया पाउँथे ।
श्रीमती, तीन वर्षको छोरा र दश महिनाकी छोरीसहित नेपालगञ्ज आइपुगेका पवन चौहानले दुई महिनादेखि इट्टा भट्टामा मालिक नआउदा विजोग भएकाले घर जान हिडेको बताउनुभयो । ‘खाने नै समस्या भएपछि हामी हिडेको हौ, पवनले भन्नुभयो, चाउचाउ खाँदै यहाँसम्म आइपुग्यौ ।’


मुकेश चौहान पनि श्रीमती र एक वर्षकी छोरीसहित छन् । पालैपालो बालबालिका बोकेर उनीहरु आएका छन् । ‘आँखाले देख्ने बेलासम्म हिड्थ्यौ, मुकेशले भन्नुभयो, राती नै परेपछि सडकमै सुत्थ्यौ ।’ मुकेशका अनुसार, एक परिवारले दिनमा दुई हजार इट्टा बनाउँथे ।
नेपालगञ्जको वीपीचोकमा आइपुगेका उनीहरुलाई प्रहरीले लगत लिइसकेपछि क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने तयारी गरिरहेको डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
यसअघि चितवन पुगेका भारतीय हिडेर बाँके आइपुगेपछि हवल्दापुरस्थित स्कूलमा टेन्ट टाँगेर राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !