गृहले रोक्यो, गाडीमा बसेका झरे

नेपालगञ्ज – नेपालगञ्जको दशगजामा बनाइएको क्वारेन्टाइनमा बसेका व्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको छ ।
भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८१ जना १६ दिनदेखि दशगजाको क्वारेन्टाइनमा बसेका छन् । आज उनीहरुको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ आएपछि घर पठाउने तयारी भएको थियो । उनीहरुलाई घर पठाउनका लागि गाडी बोलाइसकिएको थियो । धेरैजसो गाडीभित्र सामान राखिसकेका थिए । आ–आफ्नो सीट छानेर बसिसकेका थिए ।
त्यहीबीचमा स्थानीय प्रशासनले गृहमन्त्रालयमा सम्पर्क गर्दा ‘पठाउन नमिल्ने’ निर्देशन आयो । गृहमन्त्रालयबाट पठाउन नमिल्ने जवाफ आएपछि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई अहिले पठाउने निर्णय भइनसकेको बताउनुभयो । ‘माथि समन्वय हुँदैछ, अहिले नै पठाउने निर्णय भइसकेको छैन, प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो ।
गाडी बोलाउने, मान्छे बसिसकेपछि अहिले पठाउने निर्णय भएको छैन भन्नुले स्थानीय प्रशासन र गृहमन्त्रालयको समन्वय अभाव देखिएको छ ।
दशगजामा बसेका व्यक्तिलाई नेपालगञ्ज उपमहानगरपालिकाले खानपिनको व्यवस्थापन गरिरहेको छ । १५ दिन क्वारेन्टाइनमा बसेपछि र आरडीटी टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य नै मानिने गरिएको छ । जिल्लाकै अन्य पालिकाहरुले यस्तोमा घर जान दिएका छन् । यद्यपि, उनीहरु जिल्लाकै रहेका थिए ।
दशगजामा राख्ने बेलामा उनीहरुले आन्दोलन गर्दा १४ दिनपछि घर पठाइदिन्छौं भन्ने आश्वासन पनि दिइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले पनि उनीहरुलाई घर पठाउन सकिन्छ कि भनेर प्रयास गर्नुभयो । मेयर डा. राणाले गृहमन्त्री रामबहादुर थापा र गृहसचिवलाई फोन गर्नुभयो । गृहमन्त्री थापाले मन्त्रीपरिषद्को निर्णयले नै एक ठाउँबाट अर्को ठाउँमा जान रोकेको प्रतिक्रिया दिनु भयो । ‘अहिले बाँकेमा रहेकालाई घर जान दिने हो भने अरु जिल्लाकालाई पनि छोड्नु पर्छ, गृहमन्त्री थापाको भनाई उद्धृत गर्दै मेयर डा. राणाले भन्नुभयो, अर्को निर्णय नहुँदासम्म जान मिल्दैन ।’


error: यो सुविधा उपलब्ध छैन !