जागेका जनता, नयाँ मान्छे देख्दा चियोचर्चा

नेपालगञ्ज – नेपालगञ्जको वडा नं. १९ मा भारतबाट आएको व्यक्ति देखिए । गाउँमा गाईगुई हल्ला चल्यो । ‘एक कान दुई कान मैदान’ भनेझै ती व्यक्तिको आएको कुरा फैलियो । विभिन्न व्यक्ति, माध्यम हुँदै कुरा नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखासम्म आइपुग्यो ।
नेपालगञ्ज उपमहानगरपालिकाले एम्बुलेन्स पठाएर ती व्यक्तिलाई ल्यायो । र, महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखेको छ । आज आइतबार यस्ता दुई जनालाई क्वारेन्टाइनमा पु¥याइएको छ । शनिबार पनि यस्तै घटना भयो । नेपालगञ्ज वडा नं. ४ र ८ मा भारतबाट आएका व्यक्ति देखा परेपछि गाउँलेले जनप्रतिनिधि, प्रहरी हुँदै नेपालगञ्जको स्वास्थ्य शाखासम्म कुरा पु¥याए । राती एम्बुलेन्स गएर ती व्यक्तिलाई लिएर आयो । उनीहरुलाई पनि महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले टोलवासीले खबर गरेर शनिबार र आइतबार चार जनालाई ल्याएर महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको बताउनुभयो । अब उनीहरु त्यहाँ १४ दिनसम्म बस्नेछन् । स्याम्पल जाँच हुनेछ ।
टोलछिमेकले खबर गरेर नेपालगञ्जमा मात्रै होइन, गाउँतिर पनि भर्खरै बाहिरबाट आएकालाई समातेर क्वारेन्टाइनमा पठाउने गरिएको छ । शनिबार नै खजुराखुर्दबाट एकजनालाई यसरी नै टोलीवासीको अनुरोधमा क्वारेन्टाइन पठाइएको थियो ।
लकडाउनले गर्दा नाका पूर्णरुपमा ठप्प छ । भारतमा पुगेका नेपालीहरु फाटफुट नेपाल भित्रिरहेको यी घटनाले देखाउँछ । सशस्त्र प्रहरीले पूरा नाकामा तैनाथी दिएको बताउने गरिन्छ । भारतबाट मान्छेहरु फाटफुट आइरहेका छन् । उनीहरु आएका छन् कसरी ? सम्बन्धित पक्षले सोच्नु पर्ने भएको छ ।
जे होस्, गाउँशहरमा यतिबेला मानिसहरु कोरोनाप्रति सचेत देखिन्छन् । गाउँटोलमा नयाँ मान्छे देख्दा चियोचर्चा गर्न थालेका छन् । डराएका पनि छन् । सचेत पनि छन् । आफू मात्रै बचेर हुँदैन, सबै सुरक्षित भएपछि मात्रै सुरक्षित हुन सकिन्छ भन्ने मन्त्रलाई सबैले अनुशरण गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !