एक सय ३९ जना घर गए

नेपालगञ्ज – बाँकेको नरैनापुर, खजुरा र जानकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक सय ३९ जना घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनीहरु १४ दिनसम्म क्वारेन्टाइनमा बसेको र स्वास्थ्य जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको हो । नरैनापुर गाउँपालिकाको वडा नम्बर ६, भोजभगवानपुरस्थित जय किसान माविमा बनाइएको क्वारेन्टाइनबाट एक सय ३४ जना घर गएका छन् । सबैको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो, ‘उनीहरु १५ दिन क्वारेन्टाइनमा बसेर घर गएका छन् । अब ७ दिन घरमै छुट्टै क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको छ । ज्वरो आए वा खोकी लागे सम्पर्क गर्न भनेका छौं ।’
क्वारेन्टाइनमा बस्दा प्रयोग गरेको म्याट, च्यादर, तन्ना र झुल पनि उनीहरुलाई नै दिइएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो । क्वारेन्टाइमा बसेका सबै नरैनापुरको वडा नम्बर ५ र ६ का स्थानीय हुन् ।
कोरोना फोकलपर्सन श्रेष्ठले जिल्लाभरका लागि अहिले ५ सय थान किट आएकाले पहिलो चरणमा क्वारेन्टाइमा बसेकाको मात्र आरडिटी परीक्षण गरिने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !