अब राहत लिदा तीनपुस्ते विवरण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छिटो भन्दा छिटो असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायको तथ्यांक निकालेर राहत दिने निर्णय गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आइतबार बसेको आकस्मिक बोर्ड बैठकले यसअघि गरेको खाना खुवाउने निर्णय रद्द गरेको छ । बैठकले वडा वडाबाट छिटो भन्दा छिटो श्रमिक वर्ग तथा असहायको लगत निकाल्ने र राहत वितरण गर्ने निर्णय गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, राहत लिनेको व्यक्तिगत विवरण भर्ने, त्यसको अभिलेख राख्ने, लिनेले पनि सो घोषणा फाराम भर्ने छन् । राहत लिनेको तीनपुस्ते राखिनेछ । राहत लिनेले पनि मैले राहत लिएको छु । दोहोरिएको छैन भनेर सो घोषणा फाराम भर्नु पर्नेछ ।
यसरी तथ्यांक संकलन भएपछि वडा वडाले राहत बाँड्ने निर्णय भएको छ । राहत वितरणलाई अनुगमन गर्नका लागि मेयर डा. धवलशमशेर राणाको संयोजकत्वमा उपमेयर उमा थापामगर, कार्यपालिका सदस्यहरु देउमल सुनार, मन्जु बादी र कौशल धोवी सदस्य रहेको समिति बनाइएको छ ।
बैठकले केन्द्र र प्रदेश सरकारसँग राहत प्याकेजका लागि सहयोग माग्ने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको राहत सम्बन्धी मापदण्ड २०७६ पारित गरेको बोर्ड बैठकले व्यक्ति तथा संस्थालाई स्थानीय तहसँग समन्वय गरेर मात्रै राहत बाँड्न आग्रह गरेको छ । आफूखुशी राहत बाँड्नेलाई रोक्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !