मेयर डा. राणाको ५० हजार सहयोग
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले क्वारेन्टाइनमा बसेकालाई खाना खुवाउनका लागि व्यक्तिगत रुपमा ५० हजार रुपैया सहयोग गर्नु भएको छ ।
मेयर डा. राणाले नेपाल मानव धर्म सेवा समिति र नेपाल शिव सेनालाई उक्त रकम हस्तान्तरण गर्नुभयो । मेयर डा. राणाद्वारा सहयोग गरेको रकमले मानव धर्म सेवा समिति र शिव सेनाले खाना पकाएर क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खुवाउने छन् । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र दशगजामा टेन्ट टाँगेर बनाइएको क्वारेन्टाइनमा दुई सय हाराहारीमा मानिस बसेका छन् ।
मेयर डा. राणाले यसअघि पनि आफ्नो तलव गरीव, असहायलाई दिदै आउनु भएको थियो । सर्वोच्च अदालतले जनप्रतिनिधिको तलव रोकेपछि मेयर डा. राणाको तलव सहयोग अभियान रोकिएको थियो । आइतबार मेयर डा. राणाले कोरोनाविरुद्धको अभियानमा व्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नु भएको हो । मेयर डा. राणाले चुनावी अभियानमै आफूले तलव भत्ता नलिने घोषणा गर्नु भएको थियो ।