कोरोनाका कहरबीच नयाँ बर्ष

आज सायद डिजेका अट्टाहास र कहाली लाग्दो ध्वनिसँगै शहर पुरा गुञ्जायमान हुन्थ्यो, रेस्टुराँ र होटल आफ्ना ग्राहकको सेवाका लागी भ्याइनभ्याई हुन्थे, व्हिस्की, बियर, वाइन, भोट्का अनि कक्टेल र मक्टेलको साथ पुरा शहर झुमेको भेटिन्थ्यो । तर परिस्थितिले शहरको यो अवस्था ठ्याक्कै फेरिएको छ, शहर पुरा शान्त छ आज । न त कहिँ डिजे बजेका छन् न कुनै होटल र रेस्टुराँमा टेबल सजिएका छन्, बिल्कुल सुनसान छ आज शहर ।
कोरोनाका कहरबीच राजा बिक्रमादित्यले शुरु गरेको बिक्रम सम्बतको २०७७ सालको पूर्व सन्ध्यामा हामी छौं, भोलिबाट हाम्रो भित्तोमा टाँगिएको क्यालेन्डर फेरिनुपर्नेमा सम्भवत आज धेरै नेपालीको घरमा भोलि टाग्नुपर्ने क्यालेन्डर छैन । जतासुकै चर्चा र परिचर्चा कोरोना अर्थात् कोभिड–१९ कै छ । संसार हल्लाएकाहरु कोरोनाको धुनमा घडीको पेन्डुलम झैं हल्लिएका छन् । आज बिश्वका सबै मुलुकको स्वास्थ्य क्षेत्रको अवस्था त उदाङ्गो भएको छ नै एउटा नदेखिने भाइरसले सातो उडाएको छ । बिज्ञान हैरान भएको छ, ज्ञान घोटिदै छ, खोजी हुँदै छ उपायको । चन्द्रयान चलाउने, मंगलमा बस्ती बसाउने अनि ब्रम्हाण्डको एउटा कुनै कुनाको एउटा सानो कक्षबाट सिंगो ब्रम्हाण्ड चिहाउने मान्छे आज हारेको छ ।
यो विषम र संसार नै हल्लिएको परिवेशमा हाम्रो नयाँ बर्षले पाइलो राख्दै छ । जतिसुकै जटिलता, कष्ट र समस्याकाबीच पनि समाधान जुक्तिहरु खोज्दै छ बिश्व । अझ हामी नेपाली त संसारमा कहलिएका बहादुर अब हामीले देखाउने बहादुरी भनेको महिनौं महिनासम्म पनि घरभित्रको बाँस नै हो, हामीलाई अहिलेको महामारीबाट जोगाउने एउटा अचुक दबाई नै यहि हो । आजको नयाँ बर्षको पूर्व साँझ अर्थात न्यु इयर इभ यसै गरि मनाउ, जे जस्तो उपलब्ध बस्तु छ त्यसैमा रमाउदै पूर्णतः पारिवारिक न्यु इयर इभको साँझ बनाउ, सम्भवत धेरै घरपरिवारले शुद्ध पारिवारिक सदस्य मात्र भएर मनाएको नयाँ बर्षको रेकर्ड यसले राख्ने छ ।
आज हजार, लाखमा होइन करोडौंमा हिसाब किताब हुने गरि मदिराजन्य बस्तुमा खर्च हुने रकम जोगिएको छ । पारिवारिक रमाइलो गरौं, साथीहरू, इस्टमित्र र आफन्त जनमा शुभकामना आदानप्रदान गरौं अनि आफ्नो घर छिमेकमा कोरोनाका कारण भएको लकडाउनले थला परेका परिवार भए केही सहयोग गरौं, सडकमा भेटिएका पशुपंक्षीलाई केही खुवाउ यसरी नै यो पटकको नयाँ बर्ष मनाउ, नयाँ बर्ष २०७७ को सम्पूर्ण शुभेच्छुक र शुभचिन्तकमा शुभकामना ।


error: यो सुविधा उपलब्ध छैन !