सुदूरपश्चिम पर्यटन र साइक्लिङ

कैलाली – सुदूरपश्चिम प्रदेश हिमाल, पहाड तराई मिलेर बनेको नौ वटा जिल्लाको साझा फुलवारी हो । उत्तरमा अपि शैपाल जस्ता हिमालको सिरानी र दक्षिणमा भारतको उत्तर प्रदेशको दुदुवा राष्ट्रिय निकुञ्ज, पश्चिममा भारतको उत्तराखण्ड, पूर्वमा प्रदेश ५ र कर्णाली नदीको सिमानासँग जोडिएको सुन्दर भूमि ।
बडिमालिका, उग्रतारा, शैलेश्वरी, बडिकेदार, बैधनाथ, बेहडाबाबाजस्ता पवित्र धामहरुले भरिएको सुदूरपश्चिमलाई देवभूमि भन्दा फरक पर्दैन । यति मात्र होइन, आलिताल, खप्तड अनि शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, राणाकालीन दरबारहरु, डोटीको ऐतिहासिक निरौली दरबार, डडेल्धुराको अमरसिंह गढी यी सबैले सुदूरपश्चिमलाई ‘सुन्दर पश्चिम’का रूपमा स्थापित गरेका छन् । सुदूरपश्चिमका अन्य प्रसिद्ध ठाउँहरुमा अछामको रामारोसन, अजयमरुकोट दरबार डडेल्धुरा, खानिडाँडा, दार्चुलाको मालिकार्जुन, दोधाराचाँदनी पुल, लिंगा क्षेत्र, परशुराम धाम, घटालबाबा, कर्णाली पुल, टीकापुर पार्क, घोडाघोडीताल अनि सेती नदीमा रोमान्टिक ¥याफ्टिङ । विद्वान सिद्ध पुरुष खप्तड बाबाले लामो समय यसै क्षेत्रमा (खप्तड) बिताउनु भएको थियो । सुदूरपश्चिम चिनाउने अर्को अझै महत्वपूर्ण ठाउँ हो कालापानी, जसको बारेमा धेरै ब्याख्या नै गर्न पर्दैन ।
यी सबै पर्यटकीय क्षेत्रलाई साइकल पर्यटनसँग जोडेर यसको बिकास गर्न सकियो भने सुदूरपश्चिमलाई अझै बिकसित र सुन्दर बनाउन सकिन्छ । साइकल भन्ने बित्तिक्कै सबैको दिमागमा दुई पांग्रे अनि खुट्टाले पाइडल मारेर चलाउन मिल्ने सवारी साधन भन्ने सबैको दिमागमा आउँछ । हो त्यही नै हो साइकल, तर आजको युगमा धेरैले बिलासी जीवनको होडबाजीले गर्दा साइकललाई अलि तुच्छ र गरीबले चढ्ने साधन पनि सोच्ने गर्दछन् । तर, वास्तवमा साइकल मात्रै एउटा यस्तो साधन हो, जसले धनी गरीवको दुरिलाई एक पलमै समाप्त गरिदिन्छ । किनकी धनी वा गरीव जसले पनि साइकल चढेपछि गर्नुपर्ने एउटै काम भनेकै पाइडल मार्ने त्यसैले भनिन्छ, साइकल सबैलाई बराबरी गरिदिन्छ ।
आजको युगमा फेरि संसार भरिका प्रायः विकसित देशहरुमा साइकल सबैको प्रिय साधन बनेको धेरै उदाहरण छन् । पढेलेखेकादेखि ठूलो ओहदामा बस्नेसम्मका धेरैजसो ब्यक्ति आज ब्यायामको लागि साइकल लाइनै पहिलो रोजाइमा पार्छन्, किनभने साइकल हिमाल, पहाड, तराई सबै स्थानमा चलाउन सकिन्छ र यो चलाउन धेरै फराकिलो बाटो चाहिदैन र बिना धेरै मेहनत शरीरको स्फुर्तीदेखि विभिन्न रोगहरुलाई शरीरबाट निर्मुल पनि गर्दछ । मधुमेह, कोलेस्ट्रोल, उच्च रक्तचाप, युरिक एसिड, मोटोपना, डिप्रेसन र हाड नशा सम्बन्धि रोगहरु साइकलबाट प्रत्यक्ष निर्मूल पार्न सकिने रोगहरु हुन् ।
अब कुरा गरौँ, सुदूरपश्चिम प्रदेश र साइकलको पर्यटनको सम्भावनाको । हामीले देखेको र सुनेकै छौं, बिदेशमा साइकिलिङ प्रमुख साहसिक खेलमा पर्छ, जुन खेलको लागि समथर, उकालो, भिरालो र खाल्डा खुल्डी सबै किसिमको बाटो आवश्यकता पर्दछ । र, हाम्रो सुदूरपश्चिममा त्यो सबै किसिमको भूभाग प्रकृतिले दिएको छ । तर हाम्रो सरकार भनौ या योसँग सरोकार राख्नेहरुको सकारात्मक सोच हामीले प्रकृतिले सित्तैमा दिएको सुबिधालाई प्रयोगमा ल्याउन सकेका छैनौं । हामी देशका विभिन्न ठूला शहरहरुमा जान्छौं र भन्छौं वा त्यो त यस्तो थियो, उनीहरुले यस्तो गरेको देखे । त्यो सबै किसिमको साइकल खेलहरु हामी सुदूरपश्चिमका हरेक कुना कन्दराहरुमा गर्न सक्छौं र देश बिदेशका साइकलप्रेमीलाई सुदूरपश्चिम आउन बाध्य पार्न सक्छौं । तर, त्यसको लागि केही पूर्वाधारहरु बनाउनु पर्छ । साइकिलिङ यस्तो खेल हो जसको लागी कम खर्चमै धेरै कामहरु तयार पार्न सकिन्छ । उपयोग नभएर खाली रहेको स्थानहरुलाई अन्तर्राष्ट्रिय स्तरको साइकल ट्रेल बनाउन यदि सरकारले रणनीति ल्याएमा म आफ्नो अनुभव र भोगाइ र मैले रोजेका सुदूरका धेरै स्थानलाई अन्तर्राष्ट्रिय साइकल ट्रेलमा परिणत गर्न सक्ने छु र मैले जानेको मेरो ज्ञान सिपको पुरा प्रयोग गरेर सुदूरपश्चिमलाई साइकिलिङको प्रमुख हब बनाउन सक्नेमा बिश्वस्त छु ।
जब देश बिदेशबाट साइकिलिङको लागि राइडरहरु सुदूरपश्चिम प्रदेशलाई रोज्नेछन्, मलाइ पूर्ण बिश्वास छ हाम्रा सुदूरका धेरै विकट मानिएका स्थानहरुमा धेरै छिटो अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधाहरुको सुरुवात हुनेछ । जसले यस समग्र सुदूरको आर्थिकदेखि बेरोजगारीलाई कम गर्नमा ठूलो भूमिका खेल्ने छ ।
(शाह सुदूरपश्चिमका साइकल अभियन्ता हुन् । उनले खप्तड, बडिकेदारलगायतका साहसिक साइकल यात्राका साथै देशभर भएक थुप्रै साइक्लिङका कार्यक्रममा समेत सहभागिता जनाइसकेका छन् ।)


error: यो सुविधा उपलब्ध छैन !