नेपालीको भारतमा जग्गा, बाली स्याहार्न आपत

नेपालगञ्ज – बाँकेको होलियाका केही बासिन्दाले आफ्नो बाली स्याहार्न नपाएको गुनासो गरेका छन् ।
होलियामा घर भएपनि सीमापारी भारतमा समेत जग्गा भएका नेपालीले आफ्नो बाली स्याहार्न नपाएका हुन् । कोरोना भाइरसको त्रासले गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतमा जान नदिएपछि नेपालीले भारतमा रहेको जग्गामा लगाएको गहुँ काट्न नपाएका हुन् । आफ्नो खेतमा गहुँ काट्न जान थालेको बताएपनि नेपालीलाई एसएसबीले नाका पार हुन दिएका छैन ।
होलिया–१, खडैचा प्रहरी चौकीका इन्चार्ज दोर्णबहादुर खड्काले केही मानिसले आफ्नो खेतमा जान नपाएको गुनासो गरेपछि एसएसबीसँग गएर कुराकानी गरेपनि एसएसबीले १४ तारिकसम्म जान–आउन नदिने बताएको जानकारी दिनुभयो ।
होलियामा भारततिर जग्गा भएका धेरै नेपाली छन् । खडैचा प्रहरीले आफ्नो बाली स्याहार्न जान नपाएको गुनासो आएपछि त्यस्ता व्यक्तिको लगत संकलन गरिरहेको छ । ‘कति जनाको भारतमा जग्गा छ । हामीले लगत संकलन गरेर उनीहरुलाई मात्रै जान दिन अनुरोध गर्ने तयारीमा छौं, खडैचा चौकीका इन्चार्ज खड्काले भन्नुभयो, अहिलेसम्म हेर्दा भारतमा नेपालीको ५० विगाह बढी जमिन भएको देखिन्छ ।’
पुर्खौदेखि भारततिर जमिन भएका धेरै नेपाली छन् । लखनऊ गदर दबाउन नेपालका श्री ३ जंगबहादुर राणाले सहयोग गरेपछि अंग्रेजले नयाँ मुलुक नेपाललाई फिर्ता गरेको थियो । फिर्ता भएको नयाँ मुलुकको सीमाना छुट्याउदा बाँकेको होलियाका धेरै परिवारको जमिन भारततिर पनि परेको छ । केहीको दाजुभाइ नेपाल र भारततिर बसोबास गरिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !