राहत लिएका व्यक्तिको नाम पत्रिका, अनलाइनमा छापिने !

नेपालगञ्ज – नेपालगञ्जमा वडा कार्यालयले राहत वितरण गर्दा धेरै ठाउँमा रस्साकस्सी भयो । वडा कार्यालयले ‘स्थायी बासिन्दा’लाई राहत वितरण गरेको थियो ।
राहत बाँड्दा कतै झगडा भयो । कतै वडा कार्यालयमा ताला लागे । तीनतले घर भएका धनीले पनि राहत लिएको कुरा आयो । कही फेरि झण्डै शतप्रतिशत बासिन्दालाई नै राहत दिएको बताइयो । कति ठाउँमा धनीले धम्क्याएर राहत लिए । कतै फेरि वडाध्यक्षले हार्न नसकेर आफ्ना मान्छेलाई राहत दिए ।
यी सबै भइसकेका कुरा हुन् । तर, अब यी राहत लिएका व्यक्तिको नाम पत्रिका, अनलाइनमा छापिने भएको छ । उनीहरुले ‘आर्थिक अवस्था कमजोर’ भएको फाराम भर्नु पर्ने भएको छ । घर जग्गा भएका, सानोतिनो व्यवसाय भएका, कतै कर्मचारीसमेत रहेकाले राहत लिएका छन् । यिनीहरुले आर्थिक अवस्था कमजोर भएको विपन्न मान्छे भनेर कसरी तीनपुस्ते फाराम भर्लान् चासोको विषय बनेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले राहत लिएका व्यक्तिको तीनपुस्ते विवरण राख्ने भएको हो । त्यसका लागि अहिले फाराम छाप्ने काम भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले राहत लिइसकेका व्यक्तिको समेत तीनपुस्ते फाराम भर्ने र पत्रिका, अनलाइनमा छाप्ने तयारी भएको बताउनुभयो । अझ उपमहानगरपालिकाले राहत लिइसकेका व्यक्तिलाई पनि अर्को फाराम भराउदैछ । त्यसमा ‘म आर्थिक अवस्था कमजोर भएको मान्छे भएकाले राहत लिएको हुँ, झुठो ठहरिएमा कानून बमोजिम कारकाही भोग्न तयार छु’ भन्ने फाराम भराउदैछ ।
उपमहानगरपािलकाले राहत दिनु अघि नै यो फाराम भरेको भए राहतका लागि यस्तो ‘लडाई’ नै हुने थिएन । तर, ती हुनेखानेलाई अब अप्ठेरो पर्ने निश्चित देखिन्छ । राहत फिर्ता गर्न पनि गाह्रो, आर्थिक अवस्था कमजोर रहेको तीनपुस्ते फाराम भर्न र पत्रिकामा आफ्नो बाजे, बाबु र आफ्नो नाम आउँदा मनमा कस्तो महसुस होला । आफन्ती अनि चिनेजानेले के भन्लान् ?
उपमहानगरपालिकाले हुनेखाने (धनी) लाई राहत दिइएको छ भने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्छ । दुरुपयोग एकतर्फी कहिल्यै हुँदैन । लिनेको मात्रै दोष देखाउनु हुँदैन । आफन्ती, पार्टीनिकट, चिनजानका आधारमा जथाभावी राहत बाँड्न त पाइदैन । राहत भन्नु नै सरकारी सम्पत्ति बाँडिएको हो । वडाको विकास बजेट कटौती भएर बाँडिएको थियो, राहत ।
भाडामा बस्नेलाई राहत वितरण गर्न हम्मेहम्मे भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नयाँका लागि तीनपुस्ते विवरण छाप्ने मुड बनाएको थियो । तर, धेरैबाट राहत लिइसकेका व्यक्तिलाई पनि फाराम भराउने कुरा आएपछि फाराम छापेर राहत लिएका व्यक्तिको घरघरमा पुगेर फाराम भराउने तयारी गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !