खाना खुवाउने कार्यक्रम स्थगित, राहत नै बाँडिने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले विपन्नलाई खाना खुवाउने कार्यक्रम स्थगित गरेको छ ।
प्रहरी प्रशासनले ‘सुरक्षा’मा प्रश्न उठाएपछि नगरका पाँच ठाउँबाट खाना खुवाउने उपमहानगरपालिकाको कार्यक्रम स्थगित भएको हो । उपमहानगरपालिकाको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले नगरका पाँच ठाउँमा खाना राखेर अति विपन्नलाई खुवाउने निर्णय गरेको थियो । त्यसका लागि हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिर पार्क, रामलिला मैदान, आदर्श मावि राँझा र कोरियनपुरस्थित आपको बगियालाई छानिएको थियो ।
एउटा ठाउँमा खाना खान ६ वटा वडासम्मका आउने भएकाले भीडभाड हुने भन्दै प्रहरी प्रशासनले रोकेपछि उपहानगरपालिकाले खाना खुवाउने कार्यक्रम स्थगित गरेको छ । प्रहरी प्रशासनका अलावा धेरै नेताहरुले त्यसको विरोध गरेका थिए ।
उपमहानगरपालिकाले विपन्नलाई राहत नै बाँड्ने निष्कर्ष निकालेको छ । कसरी, कति बाँड्ने भन्ने बारेमा फेरि नगरपालिकाको आकस्मिक बोर्ड बैठक बस्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भन्नुभयो, खाना खुवाउने कार्यक्रम अहिलेलाई स्थगित गरेका छौं । अब राहत बाँड्छौं । कति र कसरी बाँड्ने भन्ने विषयमा आज फेरि आकस्मिक बोर्ड बैठक बस्छ । त्यसले नै निर्णय गर्छ ।’
नेपालगञ्जमा ५ हजार बढी भाडामा बस्ने मानिस रहेको आकलन गरिएको छ । उनीहरुलाई लक्षित गरेर राहत बाँड्ने तयारी भएको हो । यसअघि वडा वडाले विपन्नलाई राहत बाँडिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !