लकडाउनमा सामाजिक सञ्जालको सुन्दर सदुपयोग
नेपालगञ्ज – सुरक्षाको दृष्टिकोणले लकडाउन बाध्यात्मक अवस्था हो । लकडाउन कर्फ्यु होइन तर यसले निम्त्याएको घोर निराशा र संसारै ठप्प भएको स्थिति भने छ । यस्तोमा के साँच्चै कुनै सकारात्मक काम सामाजिक सञ्जालबाट हुन सक्दैनन् ? जसले माग र पूर्तिको तालमेल मिलाउँदै सेवा र समन्वयको अभ्यास गराओस् । आजको विषय झीनो छ तर धेरैलाई कामलाग्ने कुरो खेख्दैछु जस्तो लागेको छ ।
कति जनाले लेबर, मिस्त्री, माली, प्लम्बर, कपाल काट्ने नाउ, घरेलु टेलर, जुत्ता सिउने मोची, कैची र चक्कुमा धार लगाउने मान्छे, बेलुन र खेलौना बेच्ने, सानो र्याकमा हाते चुरा पसल लिएर हिँड्ने मान्छे चिन्नुहुन्छ ? मोचीको फेसबुक आइडी छैन । तपाईंका धेरै जोर जुत्ता फाटेर थन्किएका छन् । कपडा उध्रेका वा घटाउनु बढाउनु पर्ने होलान् । तपाईंको बच्चा बेलुनको लागि खाना नखाएर रुँदैछ । बेलुनवाला बेलुन नबेची खाना नपाएर भोकले रुँदैछ । कोही भोकले खाना नपाएर वा नपाउने त्रासले हुँदैछन् कोही शोख पूरा नहुने अत्यासले रुँदैछन् । घसियारन टोलका घाँसी र टपरी बनाउनेहरू घाँस र पात नपाएर र ग्राहक नपाएर रुँदै छन् । एकादशी, पूजा, मृत्युसंस्कार परेकाहरू टपरी नपाएर रुँदै छन् । लकडाउन अघिसम्म यिनको सन्तुलन थियो अहिले सन्तुलन बिग्रिएको छ त्यत्ति न हो ।
दैनिक ज्यालादारी वा दैनिक कामको अति न्यून पारिश्रमिक पाउने मात्र न्यूनरेखीय कित्तामा पर्छन् भन्ने होइन । निरक्षर र सामाजिक ब्रदरहुडको स्तर र सञ्जालको पहुँच नपुग्नुलाई पनि आधार मानिनु पर्छ । जस्तै पीसीएफ कोटाका शिक्षकको तलब ६ हजार छ तर त्रिभुवन चोकको ठेलाको चाट पसलेले ७५ हजार महिनाको कमाउँछ । शिक्षकले चाहेमा २ महिना भोकै मर्दैन । चाट पसले पनि आरामले बाँचिरहेको छ । हरेक टोलमा बच्चा छन् र हरेक बाआमालाई यो समय बच्चाको पढाइ बिग्रिने वा बिर्सने चिन्ता छ । यो बर्ग आपसी समन्वयमा एकअर्काको पहुँचमा सजिलै पुग्न सक्छ । तर घाँसपात पात बेचेर जीवन गुजारा गर्ने, भाँडा माज्ने, जुत्ता सिउने, ठेला तान्ने, रिक्सा चलाउने, पत्रिकाका हकर, लेवर, सडकसहयोगापेक्षी मानसिक समास्याले सडकमा रहेका साँच्चिकै पीडित छन् र अवस्था लम्बियो भने झनै पीडित हुँदै जानेछन् । किनकि यिनीहरूको सामाजिक सञ्जालमा पहुँच र सक्रियता छैन ।
त्यसैले स्मार्ट बाटोबाट अरबौं, करोडौं लगानी गरेकाहरूको व्यवसाय २ महिना रोकिँदैमा मालिक भोकले मर्दैन । तर ठेलावाल मर्नसक्छ । व्यवसाय धरापमा पर्ने र दिवालिया हुने उसको ‘रिस्कटेकिङ, लगानी र फाइदाको अनुपात’मा भर पर्ने हो । ठूलो फाइदा कमाउनेले ठूलो घाटाको सम्भावना पनि बोक्नुपर्छ । लकडाउनले चारतारे होटलको मालिकलाई दिवालिया बनाउन सक्छ भन्ने चिन्ता ठूलो र लेबर दिवालिया हुने चिन्ता सानो भन्ने हुन्न । मानवता र सामाजिक न्यायको सिद्धान्त दुवैमा समान लागू हुनुपर्छ । सरकारले पनि पहिलो प्राथमिकतामा यस्तो वर्गलाई राख्नुपर्छ ।
अत्यावश्यकको परिभाषा अहिले मान्छेपिच्छे फरक छ । प्रचण्डजीका लागि सबैभन्दा अत्यावश्यक दुई अध्यक्षबीचको मिटिङ हो । सरकारका लागि सुरक्षा चिन्ता । मजदूरका लागि खाना । हिजो मेरा लागि मोबाइल स्ट्यान्ड खानाभन्दा बढी अत्यावश्यक भएको थियो । किनकि म यस लकडाउनको सदुपयोग गरी शिक्षा र मनोविज्ञानका सुचनामूलक भिडियो बनाउन चाहन्छु । लकडाउनमा सारा पसल बन्द भएकोले मेरो यो सम्भावना क्षीण भयो । तर अचानक नेपालगन्ज ग्यालेरीले मेरो काम सजिलो बनाइदियो । मैले पोस्ट गरेलगत्तै ग्यालेरीका हजारौंको आँखामा पुगेको त्यो पोस्टबाट मलाई निशुल्क केही दिनलाई स्ट्यान्ड दिनेदेखि बेच्ने सम्मको कमेन्ट आए र मेरो समस्या समाधान भयो ।
नेपालगन्ज ग्यालेरी अनलाइन सपिङ पोर्टल होइन । यसले नितान्त सहयोगी समाजसेवी प्लेटफर्मको छवि बनाएको छ । त्यसैले यस लकडाउनमा यो बरदान साबित भयो । सामाजिक सञ्जाल यस समयमा धेरैका लागि बरदान साबित हुनसक्छ ।
यस समयमा हामी आफू सुरक्षित रही, समाजसेवामा सामाजिक सञ्जालको भरपुर उपयोग गर्नसक्छौं । वडा कार्यालयमार्फत् सरकारले राहत बाँडोस् ठीक छ । तर त्यसभन्दा ठूलो कर्मीहरूको सूची बन्नु जरुरी छ । आफ्नो वडाका अत्यन्त गरीब मजदूरको सूची वडासँग हुनुपर्छ । उपमहानगरपालिकाले राम्ररी सोच्ने हो भने हरेक वडाले नेपालगन्ज ग्यालरी र यस्ता सामाजिक सञ्जाललाई सेतुको रूपमा प्रयोग गर्नसक्छ । अहिले नेपालगन्जका हकमा नेपालगन्ज ग्यालेरी यसको सबैभन्दा ठूलो पोर्टल बन्नसक्छ । नेपालगन्जमा यसको महत्वको ज्ञान नभएको र प्रयोगको सीमा नजानेर यसको राम्ररी सदुपयोग हुन सकेको छैन । संचारकर्मी समीर श्रेष्ठ लगायतको एडमिन टिमबाट सञ्चालित यसका हाल ९८ हजार सदस्य छन् । यीमध्ये यस पोर्टलमा हरेक वडाका सक्रिय स्वयम्सेवक ५ हजार मात्र छन् भने पनि र ५०० जनाले मात्र सक्रियता देखाएर हरेक घण्टा एक पटक यसै सन्जालमा सक्रिय हुने हो भने नेपालगन्ज सबैका निम्ति नमूना बन्छ । किनकि एकअर्कालाई चिन्ने र तिनका लागि सहयोग गर्ने समय र संस्कार दुवै नेपालगञ्जीयासँग छ ।
ग्यालरी वा आफ्नो व्यक्तिगत सञ्जालमा प्रतिदिन लेबर, माली, कुचीकार, प्लम्बर, धार लाउने, मोची, सडकदर्जी, हजाम, शिशीबोतल कागज ओसार्ने, घसियारा, सडकमा खेलौना बेच्ने, होटलमा भाँडा माज्ने, हकर, काठ, फलामकर्मी ज्यालादारी मजदुरहरूको माग होस् र पूर्ति गरिदिन यिनलाई चिन्नेले सुरक्षित तरिकाले कामका लागि भेटाइदिन सहजीकरण गरून् । काम नै गरेर खाने यस्ता श्रमिकलाई घर वा टोलमै गएर काम गर्ने अनुमति दिइयोस् । माग देखियो भने पूर्तिको बाटो अवश्य निस्किन्छ । यो वर्ग सामाजिक सञ्जालको पहँुचमा नभएको र निरक्षर भएकोले पीडित छ ।
यसबाहेक हामी साक्षर र स्मार्टलाई कुनै कुराको कमी हुन्छ जस्तो लाग्दैन । हामी यही सञ्जालको प्रयोग गरेर इन्डक्सन चुलोदेखि ब्युटिसियनलाई घरमा सजिलै ल्याई सेवा लिन सक्छौं । बेभ डिजाइनरलाई यो समय बरदान हुन सक्छ । हामी कामको झमेलाले बनाउन नसकेको आफ्नो प्रतिष्ठान, व्यापार, स्कूलको वेभसाइड, एप घरमै बसेर बनाउन लगाउन सक्छौं । शिक्षकशिक्षिकाका लागि यो समय सबैभन्दा उपयोगी हुनसक्छ । अनलाइन कक्षा बनाउन सिक्ने । यसका लागि गुगल क्लास, इजी क्लास थुप्रै निशुल्क सेवा प्रदाता छन् । टिकटकमा सक्रियहरू यसैबाट चेतना र मनोरञ्जन दुवै अझै सक्रियतापूर्वक र व्यवसायिक रुपले गर्नसक्छन् ।
लकडाउनको समय देश वा विश्व डुब्न लाग्यो भनेर चिन्तित हुने होइन । आफ्नो काम कसरी स्मार्ट रुपमा गरिरहने भन्ने हो । सामाजिक सञ्जालमा निराशा र गाली फैलाउनुभन्दा स्मार्ट कामदार फैलाएर सहयोग गर्नु र आफूलाई स्मार्ट बनाउनु आजको आवश्यकता हो ।