पाँच ठाउँमा मात्रै खाना खुवाउन देला प्रशासनले ? संभावना न्यून !
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले अति विपन्नलाई लक्षित गरेर नगरका पाँच ठाउँमा खाना खुवाउने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध र स्वागत भएको छ ।
भनौ, हिजोदेखि सामाजिक सञ्जाल विरोध र स्वागतले भरिएका छन् । लकडाउन अनि ६ वटा वडाको मान्छेलाई एक ठाउँमा खाना खुवाउने निर्णय कति जायज ? सबैका आ–आफ्नै तर्क छन् । सरकारले २५ जना भन्दा बढी जम्मा हुनै नदिने भनेको छ । त्यसमा पनि बाँकेमा सडकमा निस्किन दिइएको छैन, पैदल हिड्नेलाई ‘मेन क्याच स्टीक’ले समातेर नियन्त्रणमा लिने गरिएको छ । मोटरसाइकलको चाबी खोस्ने काम भइरहेको छ । ६ वटा वडाका मानिस एक ठाउँमा खाना खान आउदा उपमहानगरपालिकाले कसरी व्यवस्थापन गर्ला ? यतिबेला सबैको मनमा उठेको प्रश्न हो यो ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले विशेष गरेर भाडामा बस्नेलाई लक्षित गरेर यो निर्णय गराउनु भएको हो । एक हिसावले मानवीय कार्य नै हो । तर, लकडाउनको बेलामा यो निर्णय कत्तिको उचित ? भोकालाई खाना खुवाउने जुनसुकै मानेमा राम्रो कार्य हो नै । तर, उपमहानगरपालिकामा जम्मा पाँच ठाउँमा मात्रै खाना लगाउदा भीड हुन्छ कि भन्ने चिन्ता विरोध गर्नेहरुले गरेको देखिन्छ ।
फेरि, उपमहानगरपालिकाले निर्णय गर्दा प्रहरी प्रशासनसँग छलफल गरेको छैन । स्थानीय प्रशासनले त्यसरी खाना खुवाउन देला ? आज बस्ने बैठकबाट निर्णय हुने बताएपनि प्रहरी प्रशासन स्रोत भन्छ, ‘पाँच ठाउँमा मात्रै खाना लगाउन त दिने संभावना छैन । धेरै भीड हुन्छ ।’
नेपालगञ्ज उपमहानगरपालिकाले प्रमुख जिल्ला अधिकारी र एसपीसँग छलफल गरेर निर्णय गरेको भए राम्रो हुन्थ्यो । अब निर्णयबाट ‘ब्याक’ हुन पनि गाह्रो होला । कसरी मिलाएर जाने सवालमा प्रमुख हुन सक्छ । उपमहानगरपालिकाले सकेसम्म टोलटोल नभए वडा वडामा खाना खाने व्यवस्था गर्ने, निश्चित व्यक्तिलाई आउने र जाने (रोटेशन) व्यवस्था मिलाउने, भीडभाड हुन नदिदा राम्रो हुन सक्छ । फेरि सुरक्षाले के भन्छ प्रमुख कुरा त यही नै छ ।
उपमहानगरपालिकाले पाँच ठाउँमा खाना खाने व्यवस्था गरेको छ । जस्तो ः १) वडा नं. ६ को हडियाबाबा मन्दिर परिसर । त्यहाँ ४, ५, ६, ७, २१ र २१ नम्बर वडाको बासिन्दालाई खाना खाने व्यवस्था मिलाइएको छ । २) बागेश्वरी मन्दिर पार्क । यहाँ २, ३, ८ र ११ नम्बर वडालाई समेटिएको छ । ३) रामलिला मैदान । यहाँ ९, १३, १४, १५, १६ र २३ नम्बर वडा । ४) आदर्श मावि राँझा । यहाँ १८, १९ र २० नम्बर वडा । ५) कोरियनपुर आप बगिया । यहाँ १, १०, १२ र १७ नम्बर वडाका मानिसलाई खाना खाने व्यवस्था गरिएको छ ।