आवश्यक सामाग्री माग

खजुरा – विशेष आइसोलेसन अस्पताल खजुराका लागि आवश्यक सामाग्री माग गरिएको छ ।
५ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा सञ्चालनका लागि आवश्यक सामाग्री माग गर्ने निर्णय गरेको हो ।
कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालन समितिको बैठकले खजुरामा तयार भएको ५० बेडको अस्पताल सञ्चालनका लागि आवश्यक सबै सामाग्री माग गर्ने निर्णय गरेको छ । जसमा ४० वटा आइसोलेसन बेड, आठ वटा आइसीयु र दुई वटा भेन्टिलेटर रहेका छन् ।
बैठकपछि जानकारी दिँदै खजुरा गाउँपालिका प्रमुख तथा आवास, भोजन तथा यातायात व्यवस्थापन समितिका संयोजक किस्मतकुमार कक्षपतिले अस्पताल सञ्चालनका लागि थप स्वास्थ्य सामाग्री, औजार, उपकरण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि आवश्यक रकम सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय गरेको बताउनुभयो ।
आइसोलेसनमा रहने बिरामी, उपचारमा संलग्न स्वास्थ्यकर्मीको लागि वास, खाना तथा यातायात, अस्पताल सञ्चालन प्रशासनिक खर्च, जेनेरेटर, पीपीइलगायत विविध खर्चको लागि माग गरिने कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य डा. बद्री चापागाईले जानकारी दिनुभयो ।
बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, समितिका संयोजक डा. प्रकाश थापा, डा. सुरेश कनोडिया, आवास, भोजन तथा यातायात समितिका सदस्य भीम ओलीलगायतको सहभागिता थियो ।


error: यो सुविधा उपलब्ध छैन !