अब मोबाइल चार्ज गर्न पाए…

बसन्त शर्मा (नेपालगञ्ज) – खाना खान लाइन लागेर उभिएकाहरुको यो तस्विर नेपाल भारत सीमामा पर्ने क्वारेन्टाइन स्थलको चौथो दिनको हो । क्वरेन्टाइन स्थलमा खानेपानीका धारा जोडिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले क्वारेन्टाइनमा आवश्यक पर्ने सबै ब्यवस्थापनको चाँजोपाँजो मिलाइरहेको छ । बिजुली बत्तीको लाइन पुगेको छ । पिउने पानी, घुम्ती शौचालय २४ सै घण्टा उपलब्ध छ । क्वारेन्टाइनमा बसेका एक युवक भन्छन्, ‘अब मोबाइल चार्ज गर्ने ब्यवस्था भए हामी घरपरिवारसँग सम्पर्क गरेर ढुक्कका साथ क्वारेन्टाइनमा बस्ने थियौं ।’


यी युवाहरु रोजगारीका लागी भारत त गए तर कोरोना भाइरस संक्रमणको त्रासले घर फर्किन बाध्य भए । अहिले त्यसरी भारतबाट फर्केका १ सय ८१ जना नेपाल भारत सीमाको दशगजा नजिकै बनाइएको क्वारेन्टाइनमा दिन कटाइरहेका छन् ।
भारतको नोयडा पुगेका यी केही युवाहरु काम ठप्प भएपछि अहिले घर फर्किने आशामा दशगजा छेउमा क्वारेन्टाइनमा दिन गन्दै बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेहरु भारतका विभिन्न शहरबाट फर्केका फरक–फरक जिल्लाका नेपाली हुन् ।


घरपरिवार पाल्न रोजगारीका लागी भारत पुगेका नेपाली कोरोना संक्रमणको त्रासले स्वदेश फर्किनु पर्ने त भयो तर घर पुग्नु पहिले नेपाल–भारतमा लकडाउन भएकाले सीमाको क्वरेन्टाइनमा बस्नु परेको छ । यो स्वास्थ्यका दृष्टिकोणले संक्रमण फैलन नदिन सुरक्षित उपाय हो ।
बाँकेको दशगजामा ३ दिनसम्म देश फर्किन पाउँ भन्दै संघर्ष गरेका उनीहरु तेस्रो दिनको साँझ नेपाली भूमिमा नेपाली सेनाले स्थापना गरेको अस्थायी क्वारेन्टाइन टेन्टमा सुत्न पाए । चौथो दिनको विहान पहिलेका दिन भन्दा केही खुशी देखिन्थे उनीहरु । स्वस्थ्य परीक्षणमा अहिलेसम्म स्थिति सन्तोषजनक रहेको बुझिएको छ । नेपाल भारत सीमाको दशगजामा ३ दिनसम्म देश फर्किन पाउँ भन्दै संघर्ष गरेका उनीहरु चौथो दिनको विहानदेखि मध्यान्हसम्म पालैपालो एक आपसको दूरी कायम गर्दै लाइन लागेर खानाका लागि अनुशासित देखिन्थे ।


‘सामान्य टाउको दुख्ने रुघाखोकी भए पनि ज्वरो आएका विरामी कोही पनि छैनन्,’ नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द भन्नुहुन्छ ।


error: यो सुविधा उपलब्ध छैन !