संघद्वारा पिपिई सहयोग
नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले स्वास्थ्यकर्मीलाई पिपिई सहयोग गरेको छ ।
संघले भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको हो । मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीनवटै स्वास्थ्य निकायलाई डेढ सय बढी पिपिई हस्तान्तरण गर्नुभयो ।
पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनै पर्ने कपडा हो । नेपालगञ्जमा यो उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नै नसक्ने अवस्था उत्पन्न भएको बताइरहेका छन् । स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले पिपिईको सहयोग गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।
संघका अध्यक्ष मन्सुरीले चिकित्सकको सल्लाह अनुसार पिपिई तयार पारिएको जानकारी दिनुभयो । अब बन्ने पिपिई भेरी अस्पताललाई उपलब्ध गराउने जानकारी दिदै संघका अध्यक्ष मन्सुरीले भन्नुभयो, ‘कोरोनाबिरुद्धको अभियानमा निरन्तर सहयोग रहने छ ।’