नाकामा अझै भीड
नेपालगञ्ज – बाँकेमा ‘जनता कर्फ्यु’ लागेको छ । घर बाहिर ननिस्किन माइकिङ भइरहेको छ । अत्यावश्यक कामबाहेकलाई सडकमा हिड्न प्रहरीले रोकेको छ ।
नेपालगञ्ज नाकामा मंगलबार पनि ठूलो समूह जम्मा भएको छ । यो एकै पटक आएको समूह भने होइन । भारतका विभिन्न ठाउँमा काम गरेर फर्किएका, आफन्ती भेट्न पारी पुगेर आएका नेपाली हुन् । सरकारले २५ जना भन्दा बढी जम्मा हुन नदिने बताइरहदा र सडकमा हिड्ने मान्छेलाई रोक्न ‘जनता कर्फ्यु’ लगाइरहदा जमुनाहामा भने ७६ जना एकै ठाउँमा बसेका छन् ।
स्थानीय प्रशासनले सोमबार त्यसरी नै फसेका ८ सय ९९ जनालाई व्यवस्थित तरिकाले नेपालगञ्ज भित्र्याएर क्वारेन्टाइनमा राख्दा अधिकांश भागेका थिए । बचेका २ सय ८ जनालाई साँझ छोडिएको थियो ।
मंगलबार नाकामा आइपुगेका व्यक्तिलाई के गर्ने ? स्थानीय प्रशासन छलफलमा जुटेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले ती मान्छेका बारेमा के गर्ने भन्ने बारेमा छलफल भइरहेको बताउनुभयो ।
जिल्लाभरी सडकमा मान्छेलाई हिड्न रोकिरहदा नाकामा दैनिक भीड हुने अवस्था आएको छ । भारतका विभिन्न ठाउँमा कामका लागि पुगेका नेपालीहरु फर्किरहेका छन् । सरकारले नाकामा फसेका नेपालीलाई उद्धार गर्ने नीति अघि सारिसकेकाले स्थानीय प्रशासनले उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्छ कि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर घरतर्फ पठाइदिन्छ हेर्न बाँकी नै रहेको छ ।
यसैबीच, जिल्लाका विभिन्न ठाउँमा माइकिङ गरेर घरभित्रै बस्न अनुरोध गरिएको छ । प्रहरीले नेपालगञ्जका शहरमात्रै होइन, कम्दीमा समेत माइकिङ गरेको देखिएको छ । कतिपयले माइकिङ गरेर घर भित्र बस्दा के के गर्ने भन्ने सिकाइरहेका छन् ।