नाकामा फसेकाहरु घरतर्फ
नेपालगञ्ज – नेपालगञ्ज नाकामा फसेका मानिसलाई घरतर्फ पठाइदैछ ।
स्थानीय प्रशासनले जनता कफ्र्यु लगाइरहदा भारतबाट नेपाल आउदै गरेका नेपाली नाकामा फसेका थिए । उनीहरुलाई जमुनाहा नाकाबाट बसमा ल्याई घर तर्फ पठाउने तयारी भएको हो । जनता कफ्र्युका कारण सवारी सञ्चालन नभएकाले उनीहरुलाई यहीबाट सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी भएको छ ।
नाकामा ८७ जना फसेका थिए । त्यसमा ३५ जना बाँकेका थिए । अरु विभिन्न जिल्लाका थिए । कर्णाली प्रदेशका विभिन्न जिल्लाका व्यक्तिलाई एउटै बसमा राखेर पठाइदैछ । नाकाबाट भित्रिएका सबै मानिसको लगत लिइएको छ । नाम, ठेगाना टिपिएको छ । यी सबै मानिसको बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अवगत गराइने छ ।
दिनभरी जमुनाहा नाकामा बसेका उनीहरुलाई लिन दुई वटा बस पुगेको थियो । बाँकेका एसपी वीरबहादुर ओलीले दुई वटा बसमा अटेपछि उनीहरुलाई बसपार्क लगेर त्यहाँका सम्बन्धित जिल्लातिर लैजाने व्यवस्था मिलाइएको बताउनुभयो ।
देशैभरी लकडाउन र बाँकेमा जनता कफ्र्यु भएपनि सरकारले मंगलबार एक दिनलाई नाकामा फसेका व्यक्तिलाई उद्धार गर्ने निर्णय गरेपछि नेपालगञ्ज नाकामा रहेकालाई भित्र्याइएको हो । जिल्लामा दिनभरी जनता कफ्र्युका कारण ननिस्किएका व्यक्तिहरु साँझ परेपछि सडकमा निस्केका थिए । कुनै बन्दको बेलामा जसरी मानिसहरु सडकमा निस्केका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन भनिरहेका बेलामा मानिसहरु सडकमा निस्केर जोखिम बढाएका छन् ।