नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै

नेपालगन्ज – नेपालगन्जमा अधिवक्ता विजय गुप्ताले सहकारी पीडितले न्याय पाउनुपर्ने माग सहित आज १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय, बाँकेमा आमरण अनसन सुरु गर्ने भएका छन् ।
बाँके जिल्लामा विभिन्न सहकारी संस्थाहरूबाट ऋण लिएकाहरुले सहकारी संस्थाहरू बन्द हुँदा ऋण तिरेर आफ्नो सम्पत्ति फुकुवा गराउन समेत सकेका छैनन्। विभिन्न समयमा जिल्लामा यस्ता बचतकर्ताको निक्षेप रकम हिनामिना गरी वित्तिय संस्थाहरु बन्द भएका छन्।
नेपालगन्ज नगरपालिकाका पूर्वमेयर समेत रहेका गुप्ता भन्छन-‘बचतकर्ताहरू कसरी समस्या समाधान गर्ने भन्ने विषयमा अनभिज्ञ छन, कतिले प्रहरीमा जाहेरी समेत दिएका छैनन्, यसले गर्दा बचतकर्ताहरूको रकम फिर्ता पाउने प्रक्रिया अघि नबढेको अवस्था पनि छ।’
कानुन व्यवसायी गुप्ता थप्छन-‘सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्ज २०७६ सालदेखि यस्तै काण्डले गर्दा आजसम्म उक्त संस्थालाई सुचारु गरी ऋणिले ऋण तिर्ने तथा बचतकर्ताले बचत फिर्ता पाउने तर्फ नेपाल सरकारका निकायहरूको तर्फबाट आवश्यक पहल भएको देखिएन।’
बचतकर्ताहरूको हकहितको संरक्षण गर्न र उनीहरुको डुबेको बचत रकम फिर्ता गराउन वि.सं.२०७६ सालदेखि वरिष्ठ अधिवक्ता गुप्ताले संघर्ष गर्दै आएका छन् । पीडितलाई न्याय दिलाउन पौष १ गते दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालयको मूल गेटको उत्तरपट्टि आमरण अनसन र रिले अनसन बस्नुपर्ने अवस्था आएको गुप्ताले बताएका छन् ।











