खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु


खजुरा – बाँकेको खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

खजुरा-४, डीगाउँको मिनी रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले खजुरालाई खेलकुदको उर्वरभूमि बनाउन लागेको बताए । उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष विकले खेलकुदले सबैलाई जोड्ने र चिनाउने कार्य गरेकाले यसमा थप लगानी बढाइएको जनाए । उनले रनिङ शिल्ड मार्फत खजुरालाई चिनाउन सकिने उल्लेख गरे । रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक विकले खजुराले अब्बल खेलाडीहरु उत्पादन गरिरहेको बताए ।

भव्य समारोहका विच सुरु भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले खेल खेल्दा स्वास्थ्य मात्र नभई समुदाय, देशकै फाइदा गर्ने बताए ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले खेलकुद नै खजुराको पहिचान बनेको बताउँदै पछिल्ला दिनमा खेल गतिविधि गर्व गर्न लाएक रहेको बताइन् ।

खजुरा गाउँपालिकाको खेलकुद विकास परिषदको आयोजना तथा ज्ञानोदय नमुना माविको व्यवस्थापन तथा सञ्चालनमा चार दिनसम्म चल्ने मेयर रनिङ शिल्डको उद्घाटनको दिन केही खेलहरु भएका छन् । विद्यालयकै तर्फबाट जाती जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुनेगरि नृत्य, झाँकी तथा आकर्षक पिटीको प्रस्तुती रहेको थियो । मार्चपासमा खजुराका अधिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।

ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता सञ्चालन गरिएको जनाए । प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्‌डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भइरहेको सचिवालय संयाेजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तह‌मा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन् । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए । शुक्रबार विहानै देखि खेलहरु सञ्चालन गरिएको थियो । दिनको १ बजे उद्घाटन समारोह अघि भलिबल पुरुष तर्फका खेलहरु, कपड्डी महिला, एथ्लेटिक्स तर्फ दौडका हिट्स सम्पन्न भएको फिल्ड मार्सल भण्डारीले जनाए ।

भलिबल तर्फ भएको पहिलो खेलमा नेरामावि मनकामनापुरलाई सोझो सेटमा हराउदै जनता मावि विजयी भएको थियो । धुव्रतारा विद्या मन्दिर लाई हराउदै पशुपति मावि घिया विजयी भयाे । मैटहवा मावि र जनसेवा मावि विच भएको भलिबल खेलमा मैटहवा विजयी, मैटहवा मावि र जेनिथ माविको प्रतिस्पर्धा हुदाँ जेनिथ विजयी भयो । जनकल्याण मावि शान्तिनगरसंँगको खेलमा अमर मावि विजयी भयो । योगिनी मावि र सनलाईट ई.मि. विच सञ्चालन भएको खेलमा योगिनी विजयी बन्यो । भानु मावि र इन्ट्रिग्रेटेड एकेडेमी र भानु मावि विचमा भएको खेलमा इन्ट्रिग्रेटेड विजयी बनेको थियो भने लगतै अरुणोदय माविसँग भएको प्रतिश्पर्दामा अरुणोदय विजयी भयो । गुराँस चाईल्डहुड एकेडेमीले जन कल्याण मावि बद्रिपुरलाई हरायो र भविबल खेलमै ज्ञानोदय नमुना माविलाई हराउदै आदर्श मावि विजयी बनेको प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।


error: यो सुविधा उपलब्ध छैन !