नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु
नेपालगन्ज – नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु भएको छ । महोत्सव माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । सो अवसरमा प्रचण्डले बाँके र बर्दियाको बृहत्तर हितका लागि लागि पर्ने बताए । उनले संविधानमा प्रादेशिक संरचना परिवर्तन गर्दा बाँके र बर्दियाका जनताको मर्मलाई ध्यानमा राख्ने आश्वासन दिए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नेपालगन्ज उद्योग बाणिज्य संघलाई ३० वर्षका लागि सडक विभागको दश विगाह जमिन भोगााधिकार दिएको स्मरण गराउदै पुनः त्यसलाई कार्यान्वयन गराउन पहल गर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन जोडदार माग गरेका थिए । उनीहरुले राज्यको नीति नै गतिलो नहुँदा सीमावर्ती बजार सुक्दै गएको स्मरण गराए ।
संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौर, दिपा शर्मालगायतले अहिलेको आर्थिक मन्दी र व्यापारीलाई परेको मर्काका बारेमा बोलेका थिए ।
कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा आयोजना गरिएको महोत्सवमा ३ सय ५० वटा स्टल रहेका छन् । महोत्सव अवधिमा ३ लाख मानिसले अवलोकन गर्ने आशा गरिएको छ । महोत्सवमा सय रुपैया टिकट राखिएको छ । विद्यार्थीलाई ७५ रुपैया कायम गरिएको छ । उद्घाटन अघि नेपालगन्जमा झाँकी निकालिएको थियो ।