कोहलपुर शवदाहका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग


कोहलपुर– कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडले ५० लाख सहयोग गरेको छ ।
कोहलपुर नगरपालिकामा बिहीबार एक कार्यक्रमका बीच बैंकका लुम्विनी प्रदेश प्रमुख लवप्रसाद कुइँकेलले सहयोग रकमको चेक कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, शवदाह गृह निर्माण समितिका संयोजक वीरेन्द्रकुमार शाहको उपस्थितिमा कुइँकेलले अध्यक्ष अधिकारीलाई चेक हस्तान्तरण गरेका थिए । शवदाह गृह निर्माणमा एभरेष्ट बैंकले ठूलो योगदान दिएको भन्दै नगर प्रमुख आचार्यले बैंकप्रति आभार व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको सहयोगले शवदाह गृह निर्माणमा ठूलो टेवा पुगेको बताए । उनले अन्य संघसंस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न आग्रह समेत गरे ।
कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले थालेको यो अभियानमा बैंकले गरेको सहयोगप्रति धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा सहयोग गर्न आग्रह समेत गरिन् । बैंकका लुम्विनी प्रदेश प्रमुख कुइँकेलले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए । कोहलपुर नगरपालिकाले शवदाह गृह निर्माणका लागि थालेको यो अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । शवदाह निर्माण समितिका संयोजक वीरेन्द्रकुमार शाहले शवदाह गृह निर्माणका लागि बैंक तथा वित्तिय संघसंस्थाहरुले महत्वपूर्ण सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । यसअघि ग्लोबल बैंकले २० लाख रुपैया सहयोग गरिसकेको छ । अन्य प्रतिष्ठित उद्योगीहरुले पनि शवदाह गृह निर्माणका लागि सहयोगको प्रतिवद्धता जनाएको संयोजक शाहले बताए ।

कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन कोहलपुर शवदाह गृह निर्माणको काम तीब्र गतिमा भइरहेको छ । कुल १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो । उपभोक्ता समितिका अध्यक्ष अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ । माघ महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माणकार्य भइरहेको अध्यक्ष अधिकारीले बताए । शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाइ छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युतसमेत जडान भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए । कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो । गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा उनले व्यक्त गरे । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्तीसोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई थियो ।


error: यो सुविधा उपलब्ध छैन !