शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक
नेपालगन्ज – बाँके जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाका पदाधिकारीहरुले नेपालगन्जमा हुनलागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आप्नो सबैखाले सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।
आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
प्रतियोगिता आयोजक अन्तरालले आज आयोजना गरेको समन्वयात्मक बैठकमा सहभागि पदाधिकारीहरुले नेपालगन्जमा प्रतियोगिताको आयोजना हुनु गर्वको कुरा भएको बताउदै यसमा सबैले अपनत्व लिनुपर्नेमा समेत जोड दिएका थिए ।
बैठकमा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश सदस्य शंकर न्यौपानेले लामो समयको पर्खाईपछि नेपालगन्जमा राष्ट्रियस्तरको महिला फुटबल हुनु सबैका लागि खुशीको कुरा भएको बताउदै प्रतियोगिताले महिला खेलाडी उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, फातिमा फाउण्डेशनका अध्यक्ष मैमूना सिद्धिकी र बहुमुखी सेवा केन्द्रका अध्यक्ष प्रभात ठकुरीले लुम्बिनी कप महिला फुटबल सफल बनाउन सामुहिक हातेमालो गरेर अघि बढ्न आफुहरु तयार रहेको बताउनुभयो ।
बैठकमा बरिष्ठ सामाजिक अभियन्ता पूर्णचन्द्र उपाध्यक्ष, गैरसरकारी संस्था महासंघका पूर्व जिल्ला उपाध्यक्ष निर्मला सुनार, सामुहिक अभियान नेपालका अध्यक्ष केशु पोखरेल, सचिव तारा वली, सामाजिक अभियन्ताहरु बिनोद थापा, रामु चिडिमार र वामदेव पोखरेलको उपस्थिति रहेको थियो ।
यसैगरी, लुम्बिनी कप महिला फुटबलकै सन्दर्भमा आजै बसेको शिक्षा सम्बन्द्ध संस्थासंगको समन्वयात्मक बैठक बसेको थियो ।
बैठकमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, प्याब्सन नगर अध्यक्ष मानबहादुर थापा, खेलकुद महासंघ बाके अध्यक्ष यम रावतसंग प्रतियोगिता सफल बनाउन घनिभूत छलफल भएको थियो ।
बैठकमा प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक निरजकुमार गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमितिका संयोजक तेजविक्रम शाह र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले लुम्बिनी कप महिला फुटबलमा अहिलेसम्म भएका तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।