दादुरा-रुबेला खाेप अभियान सुरु

नेपालगञ्ज – बाँकेमा पनि दादुरा-रुबेला खोप अभियान सुरु भएको छ । फाल्गुन ३० गतेसम्म चल्ने अभियानको नेपालगञ्जस्थित कन्या माध्यमिक विद्यालयमा आज एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अभियानको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा. शंकर केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले खोप अभियानमा कोही पनि छुट्न नहुने भन्दै अनिवार्यरुपमा खोप लगाई दादुरा-रुबेला निवारणका लागि योगदान गर्न आग्रह गरेका छन् ।

बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई फाल्गुन ३० गतेसम्म दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनक गिरीले बताउनुभयो ।

राप्तीसोनारीमा १८ हजार ६६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार १४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । ९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइने गिरीले बताउनुभयो  ।

त्यसका लागि १ हजार २९६ जना स्वास्थ्यकर्मी खटिएका छन् भने १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन भएका छन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामा ६९ वटा खोप केन्द्र राखिएका छन् । ती खोप केन्द्रमार्फत खोप लगाउन ३६८ स्वास्थ्यकर्मी र ३६८ नै स्वयंसेवक परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुभयो ।

यही अभियानका क्रममा ९ महिनादेखि ५ वर्षमुनिका नियमित खोप लगाउन छुट बालबालिकालाई पनि खोप लगाइने भएकाले खोप कार्ड लिएर खोप केन्द्रमा आउन आग्रह गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !